‘केजीएफ’ ले नेपालमा मनायो ५१ औं दिन, कमायो कति ?



पोखरा, २८ माघ ।

केही हप्तायता हरेक साता प्रदर्शनमा आएका नेपाली फिल्म बक्सअफिसमा असफल भइरहेका छन् । गत मंसिरमा प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’ पछि कुनै नेपाली फिल्मले लगानी समेत सुरक्षित गर्न सकेका छैनन् । अहिले नेपाली फिल्म क्षेत्रमा दर्शक हराएको चर्चा हुन थालेको छ । केही हप्तादेखि हलमा दर्शक नभएर झिंगा धपाएर बस्न बाध्य भएको हल सञ्चालकको गुनासो छ । 

कुनै बेला प्रत्येक नेपाली फिल्मले प्रदर्शनको ५१ औं र सय दिन सजिलै मनाउथे । न्यून संख्यामा फिल्म बन्ने हुँदा नराम्रा फिल्म पनि बल्कबस्टर हुन्थे । तर, अहिले ५१ दिन त टाढाको कुरा हलमा एक हप्ता टिक्न पनि नेपाली फिल्मलाई ठूलो सकस हुन्छ । यस वर्ष दुई फिल्म ‘छक्का पञ्जा ३’ र ‘जय भोले’ ले एक हप्ताको अन्तरमा ५१ औं दिन मनाए । गत वर्ष ‘शत्रु गते’ ले मनाएको थियो । 

आफ्नै बजारमा नेपाली फिल्मलाई ५१ औं दिन मनाउन महाभारत भइरहेको अवस्थामा पहिलो पटक हिन्दीमा डब भएको कन्नड फिल्म ‘केजीएफ’ ले भने नेपाली हलमा प्रदर्शनको ५१ औं दिन मनाएको छ । कन्नड सुपरस्टार यश अभिनीत यस फिल्मले आइतबारबाट नेपालमा ५१ औं दिन मनाएको हो । यो फिल्मलाई मनोज राठीको टिमले नेपाल ल्याएको हो । 

वितरक राठीले अहिले फिल्म काठमाडौंको सिटी सेन्टरको चौथो तल्लामा रहेको बिग मुभिजमा ५१ औं दिनमा प्रदर्शन भइरहेको बताए । यो फिल्मले नेपालमा राम्रो पैसा छापेको छ । तर, फिल्मको कलेक्सन रिपोर्ट भने उनले खुलाउन चाहेनन् । विशेष स्रोतका अनुसार, राठीले उक्त फिल्म दश लाख भारुमा नेपाल ल्याएका हुन् । 

राठीले भने, ‘नेपालमा पहिलो पटक कन्नड फिल्मले प्रदर्शनको ५१ औं दिन मनाएको हो । नेपालमा यो फिल्मलाई दर्शकले निकै रुचाएका छन् । अझैसम्म पनि फिल्म हेर्ने दर्शक राम्रो छन् ।’ प्रदर्शनको ५१ औं दिनको अवसर पारेर वितरक कम्पनीले फिल्मको आइतबार साँझ स्पेशल स्क्रिनिङ राखेको छ । 

‘केजीएफ’ पाँच अलग-अलग भाषामा निर्माण भएको थियो । कन्नडको सबैभन्दा महँगो यो फिल्म ७० को दशकको कार्यकालमा आधारित पिरियड ड्रामा हो । यसको दोस्रो भाग पनि निर्माण हुनेछ । श्रीनिधि शेट्टी, राम्या कृष्ण, अच्युथ रावलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मलाई प्रशान्त नीलले निर्देशन गरेका हुन् । 

 

filmykhabar

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja