टेलिकमले शेयरधनीलाई लाभांश दिने



पोखरा आज 
पोखरा, १ माघ ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को मुनाफा रकममध्येबाट प्रति शेयर रु ५५ का दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको सोमबार सम्पन्न ११औँ वार्षिक साधारणसभाले उक्त नगद लाभांश प्रस्ताव सर्वसम्मतले पारित गरेको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । लाभांश रकम आजदेखि एनएमबी बैंकमार्फत शेयरधनीलाई वितरण गर्ने व्यवस्था गरिएको छ ।

एकानब्बे प्रतिशतभन्दा बढी शेयरधनीको उपस्थिति रहेको सभाले आव २०७४/७५ का लागि विभिन्न प्रतिवेदन पारित गरेको छ । सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको २०७५ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त हुने आव २०७४/७५ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलाई छलफल गरी सर्वसम्मतले पारित गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा लेखापरीक्षण समितिको सिफारिशबमोजिम आव २०७५/७६ का लागि कम्पनीको लेखा परीक्षण गर्न चाटर्ड एकाउण्टेण्ट अच्युतराज जोशी र प्रकाशजङ्ग थापालाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजको पारिश्रमिकसमेत पारित गरेको छ । कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले साधारणसभामा उपस्थित शेयरधनीलाई स्वागत गर्दै कम्पनीको एघारौँ वार्षिक प्रतिवेदन पेश गरेका थिए । उनले अगामी दिनमा अझ बढी ग्राहकमुखी सेवा प्रदान गरी मुलुकको अग्रणी दूरसञ्चार सेवाप्रदायकको रुपमा रही रहने प्रतिबद्धता व्यक्त गरे ।

विगत वर्षमा जस्तै आव २०७४/७५ मा पनि कम्पनीले नेपालको दूरसञ्चार क्षेत्रको समग्र विकास र विस्तारमा उल्लेख्य योगदान पु¥याउँदै ग्राहक आधारमा उत्साहप्रद विस्तार तथा मुनाफा वृद्धि गर्न सफल भएको उनको भनाइ थियो । विसं २०७५ असारसम्ममा मुलुकमा कम्पनीको भ्वाइस सेवामा बजार हिस्सा ५०.९ प्रतिशत र ब्रोडब्याण्ड डाटा सेवामा बजार हिस्सा ४३.६ प्रतिशत पुगेको गुरुङले जानकारी दिए ।

सचिव गुरुङले तीव्र प्रतिस्पर्धाको कारणले भ्वाइस तथा डाटा सेवाको महसुलमा ब्यापक कटौतीका बाबजुत सञ्चालन आय रु ३९.०२ अर्ब कायम गरी कूल आयमा १.५२ प्रतिशतले वृद्धि गर्न कम्पनी सफल भएको बताए । समीक्षा वर्षमा नाफा १३.७३ प्रतिशतले वृद्धि गरी रु १७.४८ अर्ब पु¥याउन कम्पनी सफल भएको छ । उनले डाटा सेवाको माग बढ्दै गइरहेको वास्तविकतालाई मध्यनजर गरी निकट भविष्यमा नै देशैभरि चौथो पुस्ताको मोबाइल सेवा ‘फोर जी’ विस्तार गर्न आपूर्ति गर्ने क्रममा रहेको फोर जी/एलटिइ उपकरणलाई फाइभ जीमा स्तरोन्नति गर्ने लक्ष्य रहेको बताए ।

 

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja