देशभर कक्षा १२ को परीक्षा शुरु, चार लाख २८ हजार परीक्षार्थी सामेल



पोखरा

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट देशभर एकैसाथ शुरु भएको छ ।

आज बिहान ७ बजेबाट देशभरका एक हजार १०७ परीक्षा केन्द्रहरुमा शान्तिपूर्ण रुपमा परीक्षा शुरु भएको बोर्डले जानकारी दिएको छ । कक्षा १२ को परीक्षामा चार लाख २८ हजार ५२ परीक्षार्थी सहभागी भएको बताइएको छ। आगामी २६ गते सम्पन्न हुने परीक्षातर्फ साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहेको छ । परीक्षामा सबभन्दा कम मनाङ जिल्लाबाट ५९ र सबभन्दा धेरै काठमाडौँ जिल्लाबाट ६२ हजार ५८८ परीक्षार्थीको सहभागिता रहेको छ । परीक्षामा कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका लागि परीक्षामा विशेष व्यवस्था गरिएको छ । कारागार वा बाल सुधार गृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था मिलाइएको बोर्डद्वारा बताइएको छ ।

परीक्षामा प्रश्नपत्रको सुरक्षाका लागि बोर्डले सिसी क्यामरा जडान गरेको छ । बोर्डले केन्द्र नजिकै सिसी टिभीसहितको सुरक्षा घेराभित्र रहेको कक्षबाट प्रश्नपत्र लैजाँदा केन्द्राध्यक्षलाई मोबाइलसमेत बोक्न निषेध गरेको छ । बोर्डको मुख्यालयमा रहेको नियन्त्रण कक्षबाट देशैभरको परीक्षाका विषयमा जानकारी दिने व्यवस्था गरिएको छ । परीक्षामा जिल्ला परीक्षा समन्वय समिति, केन्द्राध्यक्ष, बोर्डका अधिकारी, मन्त्रालयका अधिकारी, प्रदेशस्थित सामाजिक विकास मन्त्रालय, शिक्षा तथा मानव स्रोत केन्द्र, प्रदेश शिक्षा निर्देशनालयबाहेक अन्यलाई मोबाइल फोन लैजान निषेध गरिएको छ । बोर्डले परीक्षामा प्रश्नपत्रमा समस्या आए वा प्रश्नपत्र गलत भए तत्काल केन्द्राध्यक्षसँग सूचना पुग्ने गरी एकैचोटी (बल्क) एसएमएसको व्यवस्था गरेको छ भने कुनै त्रुटी देखिए बोर्डको मुख्यालयमा रहेको विज्ञ समूहले त्रुटी सच्याएर बोर्डलाई जानकारी गराउँदै यसबारे सबै केन्द्रमा जानकारी गराउने व्यवस्था गरेको छ । परीक्षामा अनियमितता गरेको पाइए जिल्ला परीक्षा समन्वय समितिले तत्काल केन्द्राध्यक्ष परिवर्तन गर्न सक्ने अधिकार दिएको छ भने परीक्षामा अमर्यादित काम गर्ने व्यक्तिलाई छ महीना कैद र रु एक लाख जरिवाना गर्न सक्ने व्यवस्था गरेको परीक्षा नियन्त्रक शर्माले जानकारी दिए।

बोर्डले यो वर्षदेखि विद्यार्थीको नाम, थर, जन्ममिति, रजिस्ट्रेशन, विषय र परीक्षामा रुजु गर्ने व्यवस्था मिलाएको छ । बोर्डले आफ्नो वेबसाइटमा परीक्षा मेमोमा गएर पुनः रजिस्ट्रेशन नं इन्ट्री गरी हेर्नसक्ने व्यवस्था गरेको छ । परीक्षामा एक हजार १०७ केन्द्राध्यक्ष, एक हजार ४८९ सहायक केन्द्राध्यक्ष, १५ हजार १०७ निरीक्षक, एक हजार ४८९ कर्मचारी, दुई हजार २१४ कार्यालय सहयोगी र १३ हजार १८४ सुरक्षाकर्मीसहित ३४ हजार ४९० जनशक्ति परिचालन गरिएको छ । कक्षा १२ को परीक्षा २६ गते सम्पन्न हुनेछ भने वैशाख २९ गतेबाट कक्षा ११ को परीक्षा शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja