भुवन भन्छन्, ‘‘क्याप्टेन’ राष्ट्रिय फिल्म’’



पोखरा, ५ फागुन ।

देशका लागि गोल्ड मेडल जित्ने अठोट बोकेको एक फुटबल खेलाडीको संघर्षमा आधारित भएर निर्माण भएको फिल्म ‘क्याप्टेन’ यस वर्षको प्रतिक्षीत फिल्म मध्येको एक हो । सुपरस्टार अनमोल केसीको अभिनय रहेका कारण पनि यो फिल्मको प्रतिक्षा गरेर बस्ने दर्शक धेरै छन् । नेपाली फिल्म क्षेत्रले पनि निकै आश गरेको फिल्म हो यो । 

गीतसंगीत र ट्रेलरले फिल्मको यतिबेला लोभलाग्दो हाइप निर्माण भएको छ । ‘रहर छ सँगै’ र ‘कर्ली कर्ली कपाल’ बोलको गीत अहिले विभिन्न मेला महोत्सवदेखि चिया पसलमा धन्किन थालेका छन् । ट्रेलरले उस्तै राम्रो प्रतिक्रिया पाइरहेको छ । अनमोलका फिल्ममा कन्टेन्ट हुँदैन भन्ने आरोपलाई यो फिल्मले चिर्ने अनुमान कतिपयको छ । फागुन १७ मा फिल्म रिलिज हुँदैछ । 

यस फिल्ममा अनमोल ‘इशान’ को चरित्रमा छन् । गाउँस्तर हुँदै राष्ट्रियस्तरको फुटबल खेलाडी बन्न एक युवकले गरेको संघर्षको परिफेरीमा फिल्म घुमेको छ । जीवनमा कहिल्यै फुटबल नखेलेका अनमोलले फिल्ममा फुटबल खेलाडीको भूमिका न्यायपूर्वक निभाउनका लागि पूर्व फुटबल क्याप्टेन हरि खड्काबाट तीन महिना तालिम समेत लिएका थिए । 

दीवाकर भट्टराई निर्देशित फिल्मलाई भुवन केसीले निर्माण गरेका हुन् । शुक्रवार ‘कर्ली कर्ली’ बोलको गीत सार्वजनिक कार्यक्रममा निर्माता केसीले ‘क्याप्टेन’ ले राष्ट्रियता बोकेको बताए । उनी यस फिल्मलाई आफू राष्ट्रिय फिल्म भन्न चाहने पनि बताउँछन् । तर, देशमा एउटा गतिलो खेल मैदान नभएको भन्दै उनले सरकारप्रति गुनासो पनि पोखे । 

‘हामीले फुटबल खेलाडीको संघर्षको कथामा फिल्म बनायौं । यो फिल्म बनाउन हामीलाई सजिलो थिएन । नेपालमा एउटा गतिलो फुटबल मैदान समेत छैन । खेल मैदान नहुँदा हामीले नपाउनु दुःख पायौं’, भुवनले सुनाए । उनी खेल क्षेत्रमा देशले फड्को मार्न सरकारले सातै प्रदेशमा फुटबल खेल मैदान निर्माण गर्न आवश्यक रहेको औंल्याउँछन् । 

उनले एन्फाको सहयोग बिना ‘क्याप्टेन’ बन्न नसक्ने पनि बताए । भुवनले एन्फाका खेलाडीदेखि पदाधिकारी सबैलाई धन्यवाद व्यक्त गरे । कलाकार र खेलाडीलाई सरकारले राष्ट्रको गहना भन्ने गरेको र दुबै ज्वाइन हुनु एकदमै खुसीको कुरा रहेको उनको भनाइ छ । फिल्म हेरेपछि हरेक खेलाडीले आफ्नो जीवन कथा महशुस गर्ने उनको विश्वास छ । 

 

filmykhabar

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja