भूमध्यसागरमा ४५ जना आप्रवासी डुबेको आशंका



पोखरा आज/रासस/एपी
पोखरा, १ चैत ।

 

डुङ्गा चढेर भूमध्यसागर पार गरेर स्पेनतर्फ जान लागेका ४५ जना आप्रवासीहरुको डुबेर मृत्यु भएको एउटा स्पेनी मानव अधिकारवादी संस्थाले जनाएको छ । मोरक्कोका अधिकारीहरुले समुद्रबाट कम्तीमा २१ जना अरु अलपत्र आप्रवासीलाई उद्धार गरिएको जनाएका छन् ।

आप्रवासीका लागि मानवीय सेवामा सक्रिय संस्था वाकिङ् बोर्डर्सका हेलेना मालेनोले डुङ्गा दुर्घटनाबाट बाँच्न सफल सात जना महिलाको भनाई उद्धृत गर्दै मारिएका व्यक्तिका बारेमा जानकारी प्राप्त भएको बताए। मारिनेमा गर्भवती महिला समेत रहेका छन् ।

“बाँच्न सफल भएकाहरुले डुङ्गामा झण्डै १३ जना महिला रहेको मलाई बताए । तीमध्ये अधिकांश गर्भवती थिए,” मालेनोले फोनमा बताए। “डुङ्गामा १२ देखि १४ वर्ष हाराहारीकी एक बालिका पनि थिइन् । ती बालिकाको पनि मृत्यु भयो ।”

उक्त सूचनालाई मोरक्को सरकारले पुष्टी गरिसकेको छैन । एकजना मोरक्कोका अधिकारीले बिहीबार कम्तीमा २१ जना आप्रवासीलाई उद्धार गरिएको बताएका छन् । एकजनाको शव फेला परेको छ, उनले बताए ।

डुङ्गामा सवार सबै व्यक्ति उप–सहारा क्षेत्रका थिए । स्पेनी उद्धार सेवाले खोजी तथा उद्धारका लागि मोरक्को सरकारको सहयोग समेत मागेको जनाएको छ ।

मालेनोले डुङ्गामा रहेका व्यक्तिसँग फोनमा अन्तिमसम्म सम्पर्क भइरहेको बताए। डुङ्गामा सवार व्यक्तिहरुले आफ्नो रबरको डुङ्गामा पानी भरिएको र डुब्नै लागेको मालेनोलाई बताएका थिए । मालेनोले भने– अन्तिम पटक सम्पर्क हुँदा डुङ्गामा मानिसहरु आत्तिएर चिच्याइरहेको सुनिएको थियो ।

स्पेनी खोजी तथा उद्धार सेवाले डुङ्गा डुबेको सम्भावित स्थान वरपर हवाई गस्ती गरेको जनाएको छ ।

युरोपेली युनियनका अनुसार, स्पेनको बाटो हुँदै धेरै आप्रवासी युरोप प्रवेश गर्दछन् । गत वर्ष ५७ हजार भन्दा बढी व्यक्ति स्पेन हुँदै युरोप छिरेका थिए । यी अधिकांश व्यक्ति मोरक्को हुँदै भूमध्यसागरको कठिन यात्रा गरेर स्पेन पुग्छन् ।

गत वर्ष भूमध्यसागर पार गर्नेक्रममा डुङ्गा दुर्घटना हुँदा करिब दुई हजार ३०० व्यक्तिको मृत्यु भएको अन्तर्राष्ट्रिय आप्रवासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja