मिथ्यांकमा टेक्दै भारतीय ‘मोटिभेसनल स्पिकर’ ले गरे नेपालको दुष्प्रचार



पोखरा, ७ माघ ।

बिन्द्रा भन्छन्ः अंग्रेजले नेपाललाई कब्जामा लिन नसकेका होइन, नचाहेका हुन्

भारतका एक प्रख्यात ‘मोटिभेसनल स्पिकर’ ले मिथ्यांकको सहारा लिएर नेपालका बारेमा भ्रामक प्रचार गरेका छन् । शुक्रबार सार्वजनिक भएको उनको यूट्यूब भिडियो अहिले नेपालमा समेत ट्रेन्डिङ छ ।

मोटिभेसनल स्पिकर डा. विवेक बिन्द्राले ‘फुल केस स्टडी अफ नेपाल’ शिर्षकमा आफ्नो यूट्यूव च्यानलबाट १५ मिनेटको भिडियो पोष्ट गरेका हुन् । भिडियोलाई दुई दिनमा करिब ७ लाखले हेरेका छन् भने १३ हजारभन्दा बढि प्रतिक्रिया आइसकेका छन् । ५६ लाख सब्स्क्राइबर भएको च्यानलमा उनले पोष्ट गरेको भिडियोले अन्तर्राष्ट्रियस्तरमै नेपालको बेइज्यती गरेको छ ।

बिन्द्राले नेपालको वर्तमान अवस्थालाई भयावह बनाएर पेश गरेका छन् । उनले प्रस्तुत गरेका अधिकांस तथ्य अतिरञ्जित वा झुटा छन् ।

‘पहाडहरुले ढाकिएको नेपालको अवस्था यति खराब छ कि,’ भिडियोमा उनी भन्छन्, ‘अधिकांस नेपालीहरु नेपालमा बस्नै चाहँदैनन् ।’

नेपालको खराब चित्र प्रस्तुत गर्ने क्रममा उनले आर्थिक वृद्धिदर र मुद्रास्फितिको हावादारी विवरण दिएका छन् ।

बिन्द्राले भनेका छन्, ‘नेपालको मुद्रास्फिति साढे १० प्रतिशत छ, तर आर्थिक वृद्धिदर डेढ प्रतिशत मात्र छ ।’

यो कहिलेको तथ्यांक हो भन्ने उनले उल्लेख गरेका छैनन् । तर, गत आर्थिक वर्ष २०७४/७५ मा नेपालको मुद्रास्फिति ४.५ प्रतिशत थियो भने आर्थिक वृद्धिदर ५.९ प्रतिशत । त्योभन्दा अगाडिको वर्ष अर्थतन्त्रको अवस्था झनै राम्रो थियो । आव २०७३/७४ मा मुद्रास्फिति ४.५ प्रतिशतमा खुम्चिएको थियो भने आर्थिक वृद्धिदर ७.४ प्रतिशत पुगेको थियो ।

बिन्द्रा अपडेट नभएका हुन् वा जानाजान भ्रम फैलाउने चेष्टा गरेका हुन्, उनले अहिले पनि नेपालमा १२ घन्टाभन्दा बढि बिजुली उपलब्ध नहुने बताएका छन् । जबकि नेपालमा लोडसेडिङ इतिहास भइसक्यो ।

नेपाल विश्वकै २५ गरिब देशमा पर्ने भनेर उनले अपुष्ट सूचना दिएका छन् । यस्तै ८० प्रतिशतभन्दा बढि मानिस गाउँमा बस्ने, ७३ प्रतिशतभन्दा बढि मानिसहरुसँग पानीको सुविधा नभएको, नेपालसित कुनै पनि प्राकृतिक सम्पदा एवम् खानिज नरहेको, १ करोड जनसंख्या गरिबिको रेखामुनि रहेको उनले बताएका छन् । यी सबै झूटा वा अतिरञ्जित तथ्यांक हुन् ।

नेपाल प्राकृतिक सम्पदा र खानिजहरुमा धनी छ, केवल उत्खनन् गर्न सकिएको छैन । नेपालमा खानेपानी नपुगेको जनसंख्या १३ प्रतिशत मात्र हो । गरिबीको रेखामुनि रहेको जनसंख्या करिब ७० लाख हो । ८० प्रतिशत मानिसहरु गाउँमा बस्ने कुरा पनि उनले हचुवामा भनिदिएका छन् । त्यसको कुनै प्रामाणिकता छैन ।

साथै नेपालको सरकारले शिक्षालाई विश्वमै कम अनुपातमा बजेट छुट्याएको उनको अर्को दावी पनि निराधार छ । यो तर्क पुष्टि गर्न उनले १५ वर्ष पुरानो तथ्यांकको सहारा लिएका छन् ।

‘सन् २००४ को बजेटमा नेपालले शिक्षातर्फ केवल ६ प्रतिशत बजेट छुटयाएको थियो, जुन विश्वमै सवैभन्दा न्यून हो,’ बिन्द्राले भनेका छन् ।

तर, नेपालले अहिले शिक्षा क्षेत्रमा छुट्याउने बजेटलाई कुल गार्हस्थ उत्पादन (जीडीपी) सँग तुलना गर्दा न्यून भन्न मिल्दैन । जीडीपीको तुलनामा शिक्षालाई नेपालले छुट्याएको बजेट अनुपात बान्द्राको देश भारतको भन्दा उल्लेख्य बढि छ । भारतमा अघिल्लो वर्ष शिक्षालाई जीडीपीको ३.५ प्रतिशत बजेट छुट्याइएको थियो भने नेपालमा ४.४५ प्रतिशत छुट्याइएको छ । बजेट कार्यान्वयनको कमजोरी अर्कै पाटो हो ।

बान्द्रा नेपालको विषयमा अपडेटेड छैनन् भन्ने यसबाट पनि थाहा हुन्छ कि उनले नेपालमा ७५ जिल्ला रहेको उल्लेख गरेका छन् । ती ७५ जिल्लामा भारतले ४ सय जनाका दरले दक्ष र उनकै शब्दमा ‘धमाकेदार’ शिक्षक पठाएर नेपालले कायापलट गरिदिन सक्ने दावी उनको छ ।

‘नेपालमा मानिसहरु बस्न चाहँदैनन् । त्यहाँ पढ्न चाहँदैनन्, किनकि त्यहाँ योग्यता हासिल गरेर, डिग्री गरेर पनि केही फाइदा छैन,’ बान्द्राले भनेका छन् ।

बिन्द्राले नेपालको ५० प्रतिशत जनता दैनिक एक डलरभन्दा कममा जीवनयापन गरिरहेको तथ्यांक दिएका छन् । यसमा पनि उनको अतिरञ्जना मिसिएको छ । राष्ट्र बैंकका अनुसार २०७४/७५ मा नेपालीको औसत आय प्रतिवर्ष एक हजार चार डलर रहेको थियो । यस हिसाबले नेपालीको औसत दैनिक आय २.७५ डलर हुन्छ ।

बिन्द्राले नेपालमा ४० प्रतिशतभन्दा बढि केटीहरुको बालबिबाह हुने गरेको आँकडा देखाउँदै यही कारणले नेपाल पछि परेको बताएका छन् । जबकि बालविवाहको समस्या नेपालमा भन्दा भारतमा ठूलो छ ।

‘नेपालमा छोरीहरुले पढ्न पाउँदैनन्, त्यसैले कम उमेरमै विवाह गर्छन् वा ज्याला मजदुरीमा लाग्छन्,’ बिन्द्राले भनेका छन् ।

स्मरणीय के छ भने भारत विश्वमै सबैभन्दा बढि केटीहरुको बालविवाह हुने देश हो । त्यहाँ ४७ प्रतिशतभन्दा बढि केटीहरु कानूनले तोकेको उमेर (१८ वर्ष) भन्दा अगाडि नै बिहे गर्छन् । सन् २०१७ मा प्रकाशित यूनिसेफको रिपोर्टले सर्वाधिक बालविवाह हुने देशहरुको सुचीमा भारतलाई संख्याका आधारमा पहिलो र अनुपातका आधारमा दशौं नम्बरमा राखेको थियो । यो टप १० सुचीमा नेपाल छैन । ह्यूमन राइट्स वाचले २०१६ मा गरेको सर्भेक्षण अनुसार नेपालमा ३८ प्रतिशत केटीहरुको १८ वर्ष नपुग्दै बिहे हुने गरेको छ ।

नेपालले आफूलाई कहिल्यै पराधिन नरहेको स्वतन्त्र राष्ट्रको रुपमा गर्व गर्दै आएको छ । बिन्द्राले यसलाई लिएर नयाँ तर्क निकालेका छन् । नेपाललाई विदेशीले कब्जामा लिन नसकेको नभएर नचाहेको उनको दलिल छ ।

उनी भन्छन्, ‘नेपालले कहिल्यै आफ्नो स्वतन्त्रता दिवस मनाउँदैन किनकी नेपाल कहिल्यै पराधिन भएन । तर, यसको कारण नेपालीहरु बहादुर हुनु मात्र होइन । खासमा नेपालको अर्थतन्त्र पहिल्यैदेखि नै दयनीय थियो । जहाँ अर्थतन्त्र बलियो हुँदैन, त्यहाँ विदेशीहरुले आँखा लगाउँदैनन् । नेपाल गरिब भएकाले नै अंग्रेजहरुले नेपाललाई कब्जामा लिने ठोस प्रयास गरेनन् । सानातिना हमला गरे, तर ठूलो आक्रमण गरेनन् ।’

बिन्द्राले नेपालमा गतिला विश्वविद्यालय र कक्षाकोठाहरु नरहेको दावी गरेका छन् ।

उनी भन्छन्, ‘नेपालको सबैभन्दा उत्कृष्ट भनिने विश्वविद्यालय विश्वका टप यूनिभर्सिटीहरुको लिस्टमा धेरै पछाडि छ । नेपालको दशौं उत्कृष्ट विश्वविद्यालय विश्वका दशांै हजार उत्कृष्ट विश्वविद्यालयको सुचीमा पनि पर्दैन ।

बिन्द्राले नेपालमा व्यवसाय गर्ने वातावरण नभएको समेत बताएका छन् ।

‘इज अफ डुइङ विजनेसमा नेपाल निकै पछाडि छ । भुटानभन्दा पनि पछाडि । त्यहाँ सडक विजुली लगायत कुनै पनि आधारभूत पूर्वाधारहरु छैनन्,’ बान्द्राले भनेका छन् ।

उनी थप्छन्, ‘नेपालको निर्यात लगभग शून्य छ । अघिल्लो वर्षमा मात्रै नेपालले १० अर्ब डलर व्यापार घाटा व्यहो¥यो ।’ यो आँकडा चाहिँ सत्यको नजिक छ । नेपालले आर्थिक वर्ष २०७४/७५ मा १३ खर्बको वैदेशिक व्यापार गरेको थियो । यसमध्ये १२ खर्ब ४३ अर्ब २९ करोड रुपैयाँको आयात र ८१ अर्ब १९ करोड रुपैयाँको निर्यात ग¥यो । यस हिसाबले नेपालको व्यापार घाटा साढे ११ खर्ब रुपैयाँभन्दा बढि देखिन्छ ।

बान्द्राले पर्यटन उद्योगलाई प्रबद्र्धन गरेर नेपाललाई धनी बन्न सल्लाह दिएका छन् । मोदीले मेक इन इन्डिया अभियान सुरु गरेजस्तै नेपालले मेक इन नेपाल अभियान सुरु गर्नुपर्ने पनि उनले बताएका छन् ।

भिडियोमा बिन्द्राले नेपालीहरुको बखानसमेत गरेका छन् । उनले नेपालीहरुलाई ‘बहादुर’ भनेर फुक्र्याएका छन् ।

रजनिकान्तसँग गोरखालीको तुलना गर्दै उनले भनेका छन्, ‘खास बाहुबली रजनिकान्त होइन, गोर्खाली हुन् ।’

भारत को स्थिति के ?

बिन्द्राले नेपाललाई संसारकै गरिब मुलुकको रुपमा चित्रण गर्दै सहानुभूति व्यक्त गरे । तर, यो बिर्सिए कि उनको आफ्नै देश गरिबहरुले भरिएको छ ।

सर्वाधिक गरिब जनसंख्या रहेको देशको सुचीमा भारत अहिले विश्वमै दोस्रो नम्बरमा रहेको छ । यसअघि दशकौंसम्म पहिलो नम्बरमा रहेको भारतलाई २०१८ मा नाइजेरियाले जितेको हो । दैनिक १.९ डलरभन्दा कम आम्दानी गर्ने परिवारलाई गरिबीको रेखामुनि रहेको मानिन्छ । सन् २०१८ को मेसम्मको तथ्यांकअनुसार भारतमा ७ करोड ३० लाख मानिसहरु गरिबीको रेखामुनि छन् भने नाइजेरियामा ८ करोड ७० लाख । भारतले सन् २०३० सम्ममा गरिबी उन्मुलन गर्ने लक्ष्य लिएको छ ।

विश्व मानव विकास सुचकांकमा भारत अहिले पनि निकै पछाडि (एक सय ३० औं स्थानमा) छ । नेपाल भारतभन्दा १९ स्थान तल छ । आधा जनसंख्या कृषिमा आवद्ध भारतमा सरकारको ऋण तिर्न नसकेर वर्षेनी विपन्न किसानले आत्महत्या गर्छन् । प्रत्येक वर्ष औसत १२ हजार किसानले आत्महत्या गर्ने गरेको भारतको सरकारले सर्वोच्च अदालतलाई जानकारी गराएको थियो ।

भारत विश्वमै सर्वाधिक संख्यामा भिखारीहरु रहेको देशका रुपमा पनि चिनिन्छ । २०१५ को सर्भेक्षणअनुसार भारतमा चार लाख १३ हजार ६ सय ७० जना भिखारी थिए, जसमध्ये दूई लाख २१ हजार ६ सय ७३ पुरुष र बाँकी महिला छन् । नेपालमा पनि हजारौंको संख्यामा भारतीयहरु भिख मागेर हिँडिरहेका छन् । लाखौं भारतीयहरु नेपालमा मजदुरी गरेर आफ्नो परिवार पालिरहेको तथ्य पनि बिर्सन हुँदैन ।

यद्यपि, कतिपय क्षेत्रमा भारतले निकै प्रगति पनि गरिरहेको छ । पछिल्ला वर्षहरुमा भारतले आफ्नो सामरिक शक्ति विस्तार गरेको छ भने फिल्म, क्रिकेट र आइटीले भारतको अर्थतन्त्रलाई माथि उठाएका छन् । तर, त्याहँ गरिब र धनीहरुबीचको खाडल झन् बढ्दो छ ।

सामाजिक चेतनाका दृष्टिकोणले भने भारतीय समाज निकै पिछडिएको छ । महिलामाथि बलत्कार र घरेलु हिंसाका लागि भारत विश्वमै ‘प्रख्यात’ छ । भारत सरकारको धार्मिक कट्टरताले त्यहाँ अल्पसंख्यक मुस्लिमहरु थिचोमिचोमा परिरहेका छन् ।

को हुन् विवेक ?

डा. बिन्द्रा अन्तर्राष्ट्रिय स्तरमै ख्यातिप्राप्त मोटिभेसनल स्पिकर र लिडरसिप ट्रेनर हुन् । उनका २५ वटा देशमा क्लाइन्ट छन् ।

१९७८ मा भारताको दिल्लीमा जन्मेका बिन्द्रा अढाई वर्षको हुँदा उनका बाबुको मृत्यू भएको थियो भने आमाले अर्को बिहे गरेकी थिइन् । उनले संघर्ष गरेर पढेका थिए ।

बिन्द्राले आफ्नो नाम अगाडी लेख्ने गरेको डा. पद्वी विवादित छ । खासमा उनले कुनै न एमबीबीएस गरेका हुन् न कुनै विषयमा पीएचडी । कोलम्बोको ओईयूएम यूनिभर्सिटीले उनलाई मानार्थ पीएचडीको पद्वी दिएको थियो । त्यसैका आधारमा उनले आफ्नो नाम अगाडि डा. लेख्ने गर्छन् । उनी आफ्नो प्रायः भिडियोमा श्रीमद्भागवत गीतको उद्वरण गर्ने गर्छन् ।

बिन्द्राविरुद्ध गत वर्ष भारतमा डाक्टरहरुले एफआईआर दर्ता गरेका थिए । देशभरीका डाक्टरहरुको विषयमा दिएको ‘घृणा फैलाउने’ अभिव्यक्तिलाई लिएर उनी आलोचित बनेका थिए ।

जयपुर मेडिकल एसोसिएसनका उपाध्यक्ष डा. सञ्जिब गुप्ताले एफआईआर दर्ता गराएका थिए भने इन्डियन मेडिकल एसोसियसनले बिन्द्रालाई ‘मानहानीको सुचना’ पठाएको थियो । बिन्द्राले आफ्नो यूट्यूव भिडियोमा देशका डाक्टरहरुलाई ‘सेतो कोट लगाएका हत्याराहरु’ को संज्ञा दिएका थिए ।

उनी उद्योगीहरुलाई व्यवसायिक समस्या समस्याका समाधानका लागि परामर्श दिने गर्छन् । भारतमा उनलाई सन्दिप महेश्वरीसँग दाँजेर हेर्ने गरिन्छ । यद्यपि, दुवैको शैली र क्षेत्र फरक–फरक छ ।

नेपालीहरुको प्रतिक्रिया

बान्द्राको भिडियोमा थुप्रै संख्यामा नेपालीहरुले प्रतिक्रिया जनाइरहेका छन् । केहीले नेपालप्रति सहानुभूति राखेको भन्दै उनलाई धन्यवाद दिएका छन् भने धेरैले नेपालको भन्दा आफ्नो देशको चिन्ता गर्न सुझाव दिएका छन् ।

कपिल पन्तले लेखेका छन्, ‘तिमीहरुले नेपालमा घुसपैठ गरेर बसिरहेका आफ्ना नागरिकलाई फिर्ता लग्यौ भने नेपाल दुई दिनमै बन्छ ।’

यसैगरी अतुल केसीले लेखेकी छन्, ‘नेपालको चिन्ता तिमीले लिनु पर्दैन । पहिले आफ्नो देशको समाज सुधार ।’

 

 

onlinekhabar

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja