साइबर शिक्षाको अभावमा बढ्दो ‘साइबर अपराध’



पोखरा आज
पोखरा

अपराध विनाको समाजको परिकल्पना गर्न सकिंदैन तथापि केहि यस्ता प्रकृतिका अपराधहरु छन् जसको जानकारी नभएकै कारण ब्यक्तिले कानूनी सजाय समेत भोग्नुपरेको छ । अपराध हुनको लागि मनसाय र कार्य दुवै हुनुपर्दछ तर यहाँ मनसाय नभईकन कार्य पुष्टि हुंदा अपराध सावित भई सजायको भागदार वन्नुपर्ने कैयन अवस्थाहरु देखापरेका छन् । साईवर अपराध अन्तरगतका केहि अपराध यस्ता प्रकृतिका छन् जसको वारेमा उचित ज्ञान नहुंदा ब्यक्तिले कानूनी सजाय भोगिरहनु परेको छ । यसरी सजाय भोग्नेमा स्कूल, क्याम्पस पढ्ने बिद्यार्थीदेखि वयस्क तथा वृद्दसम्म रहेका छन् । सामाजिक संजालको दुरुपयोग, इण्टरनेटको प्रयोगमा ध्यान नदिंदा, अन्य ब्यक्ति तथा कार्यालयमा रहेका गोप्य सूचनाको गैरकानूनी खोजी गर्ने जस्ता कार्यले समेत साईवर अपराधका घटना घटिरहेका छन् । पछिल्लो दशक सामाजिक संजाल र इण्टरनेटको तिव्र विकासले समेत यसको प्रयोग भन्दा दुरुपयोग वढ्दै गएको पाइन्छ । पछिल्लो समय सामाजिक संजाल त दुर्व्यसन जस्तै बनिसकेको छ । यद्दपी यी सवै क्रियाकलाप वाट आफु, परिवार र समाजलाई वचाउ गर्नको लागि साईवर अपराध सम्वन्धी ज्ञान हुनु अत्यावश्यक देखिन्छ ।

के हो साईवर अपराध ?

साइबर अपराध कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग गरेर हुने जुनसुकै प्रकारका अपराधहरु हुन् । यसमा इन्टरनेट, इन्ट्रानेट र एक्स्ट्रानेटसँग सम्बन्धित आपराधिक गतिविधिहरु पर्छन् । यसलाई हेर्ने र रोकथाम गर्न ल्याईएको कानुन साइबर कानुन हो ।नेपालको विद्युतीय कारोबार ऐनले “कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चारमाध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री प्रकाशन वा प्रदर्शन गर्नेलगायतका कामलाई विद्युतीय कसुर” भनी परिभाषा गरेको छ ।

इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउन्ट आदिको चोरी गरी गरिने बैंकिङ कसुर, अर्काको कम्प्युटर र विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्‍याउने क्षति लगायत अवैधानिक कार्यलाई साइबर अपराध मानिन्छ ।

साइवर अपराधको वर्गीकरण:

  • विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने:

कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानुनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने कार्यलाई प्रकाशन सम्वन्धि अपराधको रुपमा लिइएको छ ।

  • कम्प्युटर सामग्रीमा अनधिकृत पहुँच:

कुनै व्यक्तिले कुनै कम्प्युटरमा रहेको कुनै कार्यक्रम, सूचना वा तथ्याङ्कमा पहुँच प्राप्त गर्ने मनसायबाट सो कम्प्युटरको धनी वा जिम्मेवार व्यक्तिबाट कुनै अख्तियारी नलिई सो कम्प्युटरको प्रयोग गरेमा वा अख्तियारी लिएमा यो पनि कम्प्यूटर सम्वन्धी अपराध हुन जान्छ र गोपनीयता भङ्ग गर्नेकुनै विद्युतीय अभिलेख, किताब, रजिष्टर, पत्रव्यवहार, सूचना, कागजात वा अन्य सामग्रीहरूमा पहुँच प्राप्त गरेको कुनै व्यक्तिले नै अनधिकृत व्यक्तिलाई त्यस्तो अभिलेख, किताब, रजिष्टर, पत्र व्यवहार, सूचना, कागजात वा सामग्रीको गोपनीयता भङ्ग गर्ने गरेमा समेत सो अपराध सावित हुन्छ ।

  • झुट्टा व्यहोराको सूचना दिने:

कुनै व्यक्तिले प्रमणीकरण गर्ने निकायको इजाजतपत्र प्राप्त गर्ने वा अन्य कुनै मनसायले नियन्त्रक समक्ष वा डिजिटल हस्ताक्षर प्रमणपत्र प्राप्त गर्ने वा अन्य कुनै मनसायले प्रमाणीकरण गर्ने निकाय समक्ष पेश गर्ने कुनै व्यहोरा जानीजानी लुकाएमा वा ढाँटेमा वा जानाजानी झुट्टा व्यहोरा पेश वा दाखिला गर्ने कार्य समेत साईवर अपराध हो ।

  • झुट्टा इजाजतपत्र वा प्रमाणपत्र पेश गर्ने वा देखाउने:

नियन्त्रकले जारी गरेको इजाजतपत्र प्रप्त नगरी प्रमाणीकरण गर्ने निकायको रुपमा कार्य गर्ने कार्य पनि साईवर अपराध नै हो । यसो गरेमा साईवर अपराध हुन्छ र सोहि कानूनी सजायको भागिदार ठहर्छ ।

  • कम्प्युटर जालसाजी गर्ने:

जालसाजी वा अन्य कुनै गैरकानुनी कार्य गर्ने उद्देश्यले डिजिटल हस्ताक्षर प्रमाणपत्र सृजना गरेमा, प्रकाशन गरेमा वा अन्य व्यहोराले उपलब्ध गराएमा वा कुनै बिलको भुक्तानी रकम, कसैको खाताको बाँकी मौज्दात (ब्यालेन्स), कुनै आपूर्ति र भण्डार (इन्भेण्टरी) वा जुनसुकै बखत भुक्तानी दिने कार्ड (ए.टी.एम.कार्ड) मा मिलोमतो गरी वा अन्य कुनै तरिकाले जालसाजी गरी लाभ उठाउने गरेमा पनि साईवर अपराध गरेको वुझिन्छ ।

  • कम्प्युटर स्रोत सङ्केतको चोरी:

कम्प्युटर स्रोतको सङ्केत (सोर्स कोड) लाई यथावत् राख्ने गरी तत्काल व्यवस्था गरेको अवस्थामा कुनै व्यक्तिले कुनै कम्प्युटर, कम्प्युटर कार्यक्रम, कम्प्युटर प्रणाली वा कम्प्युटर नेटवर्कका लागि प्रयोग हुने कम्प्युटर स्रोतको सङ्केत (सोर्स कोड) लाई जानी–जानी वा बदनियत राखी चोरी गरेमा, नष्ट गरेमा, परिवर्तन गरेमा वा त्यस्तो काम गर्न लगाएमा सो समेत सासाईवर अपराध हुन्छ ।

  • कम्प्युटर र सूचना प्रणालीमा क्षति पुर्‍याउने:

कुनै व्यक्तिले कुनै संस्थालाई गलत तरिकाले हानि नोक्सानी पु-याउने मनसाय राखी जानी–जानी कम्प्युटर सम्पदामा रहेको कुनै सूचनालाई कुनै पनि व्यहोराबाट नष्ट गरेमा, क्षति पु-याएमा, मेटाएमा, हेरफेर गरेमा, काम नलाग्ने बनाएमा वा त्यस्तो सूचनाको मूल्य र प्रयोगको महत्वलाई ह्रास गराएमा वा हानिकारक प्रभाव पारेमा साईवर अपराध गरेको भन्ने वुझिन्छ ।

  • विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने:

कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानुनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने ।

नेपालमा साइबर कानुनको अवस्था:

विद्युतीय तथ्याङ्क आदान,प्रदानको माध्यमबाट वा अन्य कुनै विद्युतीय सञ्चार माध्यमबाट हुने कारोबारलाई भरपर्दो र सुरक्षित बनाई विद्युतीय अभिलेखको सृजना, उत्पादन, प्रशोधन, सञ्चय, प्रवाह तथा सम्प्रेषण प्रणालीको मान्यता, सत्यता, अखण्डता र विश्वसनीयतालाई प्रमाणीकरण तथा नियमित गर्ने व्यवस्था गर्न र विद्युतीय अभिलेखलाई अनधिकृत तवरबाट प्रयोग गर्न वा त्यस्तो अभिलेखमा गैरकानुनी तवरबाट परिवर्तन गर्ने कार्यलाई नियन्त्रण गर्नका लागि कम्प्यूटर अपराध ऐन २०६३ जारी भएकोमा साईवर अपराध सम्वन्धी व्यवस्था गरेको छ । आपराधिक गतिविधि वढेसंगै सम्वन्धीत निकायवाट न्यूनिकरण र नियन्त्रणको प्रयास समेत भईरहेको छ भने पछिल्लो समय अपराधिक क्रियाकलापमा तिव्र वृद्दि भईरहेको विभिन्न अनुसन्धानमूलक तथ्यांकहरुले देखाएका छन् ।

साइबर अपराध जोखिम न्यूनिकरण:

साइबर अपराधका घटनाहरू बढ्नुमा राज्यको साइबर सुरक्षा नीति र व्यवस्थापन पक्ष नै फितलो हुनु हो । साइबर अपराध बिरुद्धको अभियानमा राज्यको नीति र लगानीको आवश्यकता देखिन्छ । सूचना प्रविधि प्रयोगको सबैभन्दा उत्तम प्रयोग र उपयोग गरेर मात्रै यसको जोखिम न्यूनिकरण गर्न सकिन्छ भने सामाजिक संजालको दुरुपयोगको जोखिम पनि न्यूनिकरण गर्नु उत्तिकै महत्वपूर्ण छ । त्यसैले साइवर अपराध र साइबर अपराधबिरुद्धको अभियान अहिलेको आवश्यकता हो ।

 

–प्रताप पौडेल

प्रहरी निरीक्षक

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja