धौलागिरि अस्पताल बागलुङमा स्वास्थ्यकर्मी, चिकित्सकको अभाव
पोखरा
कोरोना महामारीका बीच सीमित स्रोत र साधनका भरमा पनि उत्कृष्ट व्यवस्थापन गर्दै आएको धौलागिरि अस्पताल बागलुङमा दरबन्दीअनुसारको चिकित्सक भने सीमित हुँदा सकस भएको छ ।
कोरोना महामारीकै अवधिमा थुप्रै पूर्वाधार, उपकरण जुटाएको अस्पतालमा दरबन्दीअनुसारका मेडिकल अधिकृत, विशेषज्ञ तथा स्वास्थ्यकर्मी छैनन् । दरबन्दीअनुसारको स्वास्थ्यकर्मी, चिकित्सक नहुँदा अपेक्षाकृतरूपमा सेवा दिन समस्या भएको अस्पतालले जनाएको छ ।
सम्भावित तेस्रो लहरको खतरा बढिरहेको बेला आइसियु र भेन्टिलेटर सञ्चालनका लागि आवश्यक मेडिकल अधिकृतको अभाव भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले जानकारी दिए ।
सोह्र जना स्थायी विशेषज्ञको दरबन्दी रहेको अस्पतालमा हाल एक जनामात्रै विशेषज्ञ चिकित्सक कार्यरत छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.पोखरेलबाहेक अन्य कुनै पनि विशेषज्ञ चिकित्सक नरहेको अस्पतालले जनाएको छ । अस्पतालमा अहिले १० जना विशेषज्ञ चिकित्सक करारमा कार्यरत छन् ।
“कोरोना महामारीसँग जुध्न हामीसँग लगभग जनशक्ति पुगेकै थियो, गण्डकी प्रदेश सरकारले समेत कोरोना लक्षित गरी केही मेडिकल अधिकृत थप गरेको थियो । तर, सबै चिकित्सक करारका थिए”, डा.पोखरेलले भने, “यस्तो जटिल अवस्थामा दरबन्दीको त कुरै छोडौँ, करारका चिकित्सकसमेत नहुँदा समस्या जटिल बनेको छ, हामीलाई आइसियु, भेन्टिलेटर, शिशु सघन कक्षका लागि मेडिकल अधिकृत छैनन् ।”
यस्तै छ जना स्थायी दरबन्दी रहेको मेडिकल अधिकृतमध्ये अहिले एक जनामात्रै अस्पतालमा कार्यरत रहेको र उनको समेत सरुवा भइसकेको छ ।
अस्पतालमा कोरोना महामारीकै समयमा करारका १५ मेडिकल अधिकृत कार्यरत रहेको अस्पतालमा अहिले जम्मा पाँच जना मेडिकल अधिकृत कार्यरत रहेको र दुई जनाको करार अवधि सकिन थालेको डा.पोखरेलले जानकारी दिए ।