माधवकुमार नेपाल: केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटेकै मात्र चिन्ता छ
पोखरा
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री हटेकै मात्र चिन्ता रहेको बताएका छन् ।
मंगलबार एमसीसी अनुदान सम्झौता अनुमोदनबारे प्रस्ट पार्न आयोजित पत्रकार सम्मेलनमा नेपालले ओलीलाई देश विकासका लागि कुनै चिन्ता नभएको बताएका हुन् ।
राजनीतिमा प्रधानमन्त्री हट्ने हटाउने भइरहने उल्लेख गर्दै उनले भने, ‘जनताले निर्वाचन गरेको प्रतिनिधिसभाको मर्यादाको रक्षा गर्नु छैन । देशको विकासका लागि कुनै चिन्ता छैन ।
मात्रै मलाई प्रधानमन्त्रीबाट हटाइस् भन्नेमात्रै छ । रातदिन त्यहीमात्रै छ । मलाई पनि हटाएकै हो । शेरबहादुरजीलाई अर्कोले हटाएकै हो । यो त भइरहन्छ । पार्टीभित्र पनि हुन्छ, सरकारमा पनि हुन्छ । अन्त पनि हुन्छ ।’
ओलीको घमण्डकै कारणले हुँदा खाँदाको दुईतिहाई बहुमत तोडिएको नेपालको दाबी छ । उनी भन्छन्, ‘ओलीको व्यक्तिवाद, अहंकारवादका कारण यो अवस्था सिर्जना भएको हो ।
सिंगै देशको लोकतन्त्र समाप्त पार्ने उद्देश्य राख्नुभएको थियो । एकलौटी शासन सत्ता सञ्चालन गर्ने योजना बनाउनुभएको थियो । मलाई कसैले रोक्न सक्दैन भन्ने उहाँको अहंकार थियो ।’
त्यस्तै एमसीसीबारे धारणा बनाउने भने पनि एमालेले एकीकृत समाजवादीको अस्तित्वबाट आतंकित भएको नेपालले बताए । ‘ओली एन्ड कम्पनीले पटक पटक धारणा बनाउँछौँ भनेको सुनिरहेका थियौँ । तर, अन्तमा के गर्यो ? तपाईंहरूले देख्नुभयो, न समर्थन न विरोध ।
अझै भन्ने हो एउटा तमाशा खडा भयो । जसले एमसीसी अगाडि बढाउनका लागि साराथोक गर्यो, ऊ नै मूकदर्शक भएर बस्यो । त्यसको कारण भनेको हाम्रो पार्टीको अस्तित्वबाट आतंकित भएर हो,’ नेपालले भने ।