नेपाली काँग्रेस नवलपरासीको जिल्ला अधिवेशन सुरु
पोखरा
नेपाली काँग्रेस नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को जिल्ला अधिवेशन आज सुरु हुँदैछ ।
निर्वाचन अधिकृतको कार्यालयले आज मतदाता नामावली प्रकाशन, २० गते उम्मेदवारको मनोनयन दर्ता र २१ गते मतदान गर्नेे गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
फागुन २१ गते हुने निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुईसचिव, दुई उपसचिव गरी पदाधिकारीको सात पदका लागि निर्वाचन हुने निर्वाचन अधिकृत गोविन्द सिग्देलले जानकारी दिए ।
त्यसैगरी जिल्ला सदस्यहरूमा एउटा नगरपालिकाबाट एक महिलासहित तीन सदस्यका दरले चार वटा नगरपालिकाबाट १२ सदस्य, एउटा गाउँपालिकाबाट एक महिलासहित दुईसदस्य गरी चार वटा गाउँपालिकाबाट आठ सदस्य निर्वाचित हुने उनले बताए ।
त्यस्तै खसआर्यबाट दुई महिला र दुई खुल्ला सदस्य, जनजातिबाट तीन महिला र तीन खुल्ला सदस्य गरी ६ सदस्य दलित तथा थारुबाट एक–एक महिला र एक खुल्ला गरी दुई सदस्य, अल्पसङ्ख्यक वा अपाङ्गता भएका समुदायबाट एक सदस्यसहित कुल ४१ जनाको जिल्ला कार्यसमिति चयन हुने जनाइएको छ ।
एक हजार ९६१ जनाले जिल्ला अधिवेशनमा आफ्नो मत प्रयोग गर्ने छन् । मतदाता नामावली प्रकाशन र उम्मेदवारी दर्ताको कार्यक्रम नेपाली काँग्रेसको जिल्ला कार्यालयको बीपी स्मृति भवनमा र मतदान २१ गते शनिबार लुम्बिनी आदर्श कलेजमा हुने भएको छ ।