म्याग्दीमा डढेलो निभाउने क्रममा एक युवकको जलेर मृत्यु
पोखरा
पश्चिम म्याग्दीमा डढेलो निभाउने क्रममा एक युवकको जलेर मृत्यु भएको छ । मालिका गाउँपालिका–५ स्थित भिरखर्क सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा मंगलबार दिउँसो तीन बजे २६ वर्षीय मबहादुर बोहराको जलेर मृत्यु भएको हो ।
डढेलोमा परेर मृतक बोहराका २१ वर्षीय भाइ मनबहादुर गम्भीर घाइते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र, दरबाङमा उपचारपछि थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
सोमबार रातिदेखि जंगलमा लागेको डढेलो बस्तीमा आउन लागेपछि निभाउन जाँदा जलेर बोहराको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि बेनी अस्पताल ल्याउने तयारी भइरहेको छ ।