गण्डकी प्रदेश सभाको विधेयक अधिवेशन आजदेखि सुरु हुँदै
पोखरा
करिब ६ महिनापछि गण्डकी प्रदेश सभाको विधेयक अधिवेशन आजदेखि सुरु हुँदैछ । असोज ५ गते बर्खे अधिवेशन अन्त्य भएपछि अर्को बैठक बोलाइएको थिएन ।
एउटा अधिवेशन अन्त्य भएको ६ महिनाभित्रै अर्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । आजको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले यसबीचमा नियुक्त भएका मन्त्री र सरकारको महत्वपूर्ण कामबारे संसदमा जानकारी गराउने छन् ।
आज हुने बैठकमा गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने ५ दलका नेताले आफ्नो भनाइ राख्ने छन् । यसबीचमा सरकारले गरेका काम र निर्णयबारे यो अधिवेशनमा प्रमुख प्रतिपक्षी दल एमालेले संसदमा कडा रुपमा प्रतिवाद गर्ने जनाएको छ ।
एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदमा कांग्रेस नेतृत्व सरकार हिँडेको, बाटो, प्राथमिकताबारे खबरदारी गर्ने छन् ।