म्याग्दीमा मानवीय लापरवाहीका कारण डढेलोको जोखिम बढ्दै
पोखरा
म्याग्दीमा मानवीय लापरवाहीका कारण डढेलोको जोखिम बढ्दै गएको छ ।
हिउँदका सुख्खा याममा पालुवा पलाउने बाहना र आगोको जथाभावी प्रयोगले वन जङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले वनजङ्गलसँगै, वन्यजन्तु, जडीबुटी र पर्यावरणमा विनाश निम्त्याउने गरेको छ । डढेलोको क्षति यतिमा मात्रै सीमित छैन, जनधनको समेत क्षति हुने जोखिम बढ्दै गएको छ ।
जिल्लाको दर्जन बढी स्थानमा डढेलो लागिसकेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मानवीय लापरबाहीका कारण डढेलोको घटना बढ्दै गएको र पूर्वतयारी नहुने, स्रोत साधनको अभावलगायतका कारणले यसले हरेक वर्ष भौतिक र मानवीय क्षति निम्त्याउन थालेको बताए ।
आगलागी नियन्त्रणका लागि संयन्त्र नबन्दा सयौँ मानिस रमिते बन्ने गरेको उल्लेख गर्दै उहाँले सानो कमजोरी र सामान्य सावधानी अपनाउन नसक्दा ठूलो क्षति व्यहोर्नुपर्ने तर्फ सबैको ध्यान जानुपर्ने बताउँछन् । नेपालमा अधिकांश आगलागी मानवीय कमजोरीका कारण सिर्जित हुने गरेको छ । वर्षेनी करिब एक लाख हेक्टर वन क्षेत्रमा डढेलोको असर पुग्ने र त्यसले वनस्पति, वन पैदावार, वन्यजन्तु, जैविक विविधतासँगै जनधनमा समेत क्षति पुर्याउने गरेको छ । सुख्खा यामको सुरुआतमै आगलागीले वन जङ्गल उजाड र पहाडका पाखा डढेलोका कारण कालो र नाङ्गो देखिन थालेका छन् ।
म्याग्दीका अधिकांश वन क्षेत्र भिरालो जमिनमा रहेको, धेरैजसोमा पानीको सहज उपलब्धता नभएका कारण आगलागीका घटनाले ठूलो क्षति निम्त्याउने गरेको उनले बताए । उनका अनुसार, गत वर्ष एक जना र यो वर्षको फागुन अन्तिम साता एक जनाले डढेलोका कारण ज्यान गुमाएका छन् । गत वर्ष जिल्लामा एक हजार ११७ हेक्टर बढी वन क्षेत्र डढेलोले सखाप पारेको थियो ।
विद्यार्थी हुँदै समुदायमा सचेतना फैलाउने उद्देश्यले यस वर्ष विभिन्न १२ विद्यालयमा डढेलो नियन्त्रणसम्बन्धी विद्यालय शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । कार्यालयले वन्यजन्तुलाई खानेपानीको प्रबन्ध मिलाउन र डढेलो लागेका समयमा आगो नियन्त्रणका लागिसमेत प्रयोग गर्न सघाउने प्रयोजनका लागि यस वर्ष विभिन्न १० वटा सामुदायिक वनमा पोखरीसमेत निर्माण गर्न थालेको जनाइएको छ ।
गत वर्ष सन २०२१ मार्च २६ का दिन देशका ५४ जिल्लाको ४३७ स्थानमा एकैपटक डढेलो लागेको थियो । डढेलो लगाउनेलाई जरिवाना सहित कैद सजाय हुन भएपनि समुदायबाट सूचना लुकाउने प्रचलनका कारण घटनामा संलग्नको पहिचानमा समस्या हुने गरेको सहायक डिभिजन वन अधिकृत नरबहादुर क्षेत्रीले बताए । उनका अनुसार, डढेलो लगाउने व्यक्तिलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा रु ६० हजारसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।