स्याङ्जामा ९७ वडा तहमै कांग्रेस प्रतिनिधि खटाइयो
पोखरा
नेपाली कांग्रेस स्याङजाले ९७ वडामा पार्टी प्रतिनिधि खटाएको छ । वडा तहमा प्रतिनिधि खटाइएको देशभर पहिलो हो । एउटा वडामा पाँच जना हुने गरि प्रतिनिधि खटाइएको हो । एक जना संयोजक सहित पाँच जनाको टोली जिल्ला भरका सबै वडामा चयन गरिएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।
चुनावी प्रचारका लागि केन्द्रले बनाएको नीति अनुसार अनुसार कार्यकर्तालाई जिम्मेवारी प्रदान गर्न प्रतिनिधि बनाइएको हो । ‘अभियानलाई प्रभावकारी बनाउन प्रतिनिधि बनाइएको छ ।’ केन्द्रले चुनावी प्रचार अभियानमा स्याङ्जामा पठाएका नेता पौडेलले भने,‘घोषणापत्र संवाद कार्यक्रम उनीहरुले राख्छन् । जनतासँग संवाद राख्छन् । खासमा नागरिक संवाद अभियान हो । ’
कांग्रेसले सच्याउनुपर्ने विषय, स्थानीयका समस्या, पार्टीको नीति, लगायतमा उनीहरुले नागरिकसँग संवाद गर्नेछन् । वडा तहमा गर्ने कार्यक्रमको मोडालिटी तय गर्ने अधिकार उनीहरुलाई दिइएको हो ।
‘निर्वाचनमा टिकट वितरण गर्ने उनीहरुको क्षेत्राधिकार पर्दैन । त्यो बाहेक सबै कार्यक्रम उनीहरुले सञ्चालन गर्छन् ।’ पौडेलले भने । जिल्ला कार्यसमितिको सदस्य, महाधिवेशन प्रतिनिधि,महासमिति सदस्य,प्रदेश महाधिवेशन प्रतिनिधि,भ्रातृ संस्थाका नेता लगायतलाई संयोजक बनाइएको छ । ९७ वडाका संयोजकको भेला समेत आइतबार गरिएको छ ।