क्यालिफोर्नियामा बन्दुकधारीले जथाभावी गोली चलाउँदा ६ जनाको मृत्यु
पोखरा
अमेरिकाको क्यालिफोर्निया राज्यको राजधानी स्याक्रामेन्तो शहरमा बन्दुकधारीले जथाभावी गोली चलाउँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । स्याक्रामेन्तोकी प्रहरी प्रमुख क्याथरिन लेस्टरका अनुसार गोलीकाण्डमा अरु १२ जना घाइते भएका छन् ।
गोलीकाण्डमा मारिनेमा तीन पुरुष तथा तीन महिला रहेको अमेरिकी टेलिभिजन एबीसीले जनाएको छ । एकाबिहानै रेस्टुरेन्ट र बारहरूले भरिएको क्षेत्रमा बन्दुकको आवाज आएपछि मानिसहरू सडकबाट भागेका थिए । गोलीकाण्डपछि संदिग्ध बन्दुकधारीको खोजी भइरहेको जनाइएको छ । ‘यो वास्तवमै दुःखद अवस्था हो’, प्रहरी प्रमुख ले भनिन्।
आक्रमणकारी पत्ता लगाउन प्रहरीले सर्वसाधारणसँग सहयोग मागेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । बन्दुक राख्न पाउने संवैधानिक व्यवस्थाका कारण अमेरिकामा भयानक गोलीकाण्डहरू दोहोरिने गरेको बताइन्छ । अमेरिकामा आफूसँग बन्दुक राख्नु र बन्दुक बोकेर हिँड्नु संस्कृतिजस्तै बनेको भन्दै केहीले यस्तो संस्कृतिको आलोचना समेत गर्दै आएका छन् ।