बेइजिङमा कोरोना संक्रमण बढेपछि व्यावसायिक क्षेत्र बन्द
पोखरा
कोरोना भाइरस संक्रमणको नयाँ लहर देखिएपछि चीनको राजधानी बेइजिङमा आवासीय एवम् व्यावसायिक क्षेत्र बन्द गरिएको छ ।
२ करोड १० लाख मानिसहरूको बसोबास रहेको शहरमा शुक्रबारयता ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । कोरोना संक्रमण थप फैलिन नपाओस् भन्ने उद्देश्यले सरकारी अधिकारीहरुले दशौं लाख मानिसहरुको परीक्षण समेत थालेको बताइएको छ ।
स्वास्थ्य अधिकारीहरुले शहरको चाओयाङ जिल्लाका ३० लाख भन्दा धेरै मानिसहरुको परीक्षण गरिने जनाएका छन् । उनीहरुको परीक्षण सोमबार, बुधबार र शुक्रबार गरिने जनाइएको छ । साङ्घाईमा जस्तै बेइजिङमा पनि कठोर लकडाउन हुने त्रासबीच स्थानीय बासिन्दाहरुले खाना र अन्य अत्यावश्यक वस्तुको जोहो गर्न थालेको एपीले जनाएको छ । साङ्घाईमा दुई साता भन्दा धेरै समयदेखि लकडाउन लागू गरिएको छ ।
बेइजिङका किनमेल केन्द्रहरुमा मानिसहरु सामान किन्न लामो लाइनमा बसेको बताइएको छ । यता सरकारी सञ्चारमाध्यमले भने शहरमा अत्यावश्यक वस्तुको कुनै अभाव नरहेको जनाएको छ ।