पोखरामा गठबन्धनबाट सुरेन्द्रमान बिजुक्छे उपमेयरका उम्मेदवार
पोखरा
कांग्रेसले पोखरामा सुरेन्द्रमान बिजुक्छेलाई उपमेयरको उम्मेदवार बनाएको छ ।
सोमबार कांग्रेसले पोखरा महानगर सभापति सुरेन्द्रमानलाई उपमेयरमा उठाउने निर्णय गरेको हो । कार्यसम्पादन समितिको निर्णयानुसार सभापति देउवाले बिजुक्छेलाई सोमबार बिहान टिकट दिएका हुन् ।
सत्ता गठबन्धनबीच भरतपुरको मेयर माओवादी केन्द्र र पोखरा महानगरको मेयर एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो । उक्त सहमति अनुसार भरतपुरको मेयरमा माओवादी केन्द्रले रेनु दाहाल र पोखरामा एकीकृत समाजवादीले धनराज आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरिसकेका छन् । तर, कांग्रेसभित्र भने भरतपुर र पोखरा महानगरको मेयर अन्य दललाई दिएको भन्दै असन्तुष्टि चुलिएको छ ।