म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा दुर्घटना, एक महिलाको मृत्यु
पोखरा
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा मंगलबार दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भिमाद नगरपालिका–२ की ४० वर्षीया पवित्रा थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । खैरेनीटारबाट दमौलीतर्फ आउँदै गरेको ना ४ ख ८४४५ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको ग २० प ६३३६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार थापाको मृत्यु भएको हो ।
थापाको दमौली अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । अर्का एक जना घाइते सुशीर थापाको अवस्था गम्भिर रहेको र पोखरामा उपचार भइरहेको बताइएको छ । पवित्रा र सुशीर आमाछोरा हुन् ।