लुस्य्राङ खोलामा झरेको पहिरोले मनास्लु पदमार्ग अवरुद्ध
पोखरा
गोरखा खोर्लाबेसी तातोपानीबीचको लुस्य्राङ खोलामा झरेको पहिरोले मनास्लु पदमार्ग अवरुद्ध बनेको छ ।
बेनिघाट, आरुघाट, लार्के सडक खण्डअन्तर्गत लुर्स्याङ खोलामा मंगलबार राति झरेको सुक्खा पहिरो करिब १० मिटर सडक ढोकेको छ ।
मंगलबार रातिको सुक्खा पहिरोले खच्चड र सवारी आउजाउ ठप्प बनेको स्थानीय शुसील गुरुङले जानकारी दिए । वैकल्पिक बाटो पनि नहुँदा खच्चड र पैदलयात्रु आउजाउ गर्न नसकेको उनले बताए ।
उत्तरी गोरखाका खाद्यान्न ढुवानी गर्ने खच्चड पनि बिच बाटोमै रोकिएका छन् । उत्तरी गोरखाको लार्के जोड्ने सडकको ट्र्याक नेपाली सेनाले खोल्दै छ । ट्र्याक खुलेसँगै माछाखोलाबाट दोभानसम्म ट्याक्टर र जिप चल्न थालेका थिए ।मंगलबारको पहिरोले सवारी आवागमनमा पनि ठप्प बनेको छ ।
पहिरो खुलाउन सडक निर्माण कार्यदलको नेपाली सेना लुस्य्राङ खोला पुगेको छ ।