वर्षासँगै परेको हिमपातले यार्सा संकलनमा समस्या
पोखरा
केही दिनअघिदेखि वर्षासँगै परेको हिमपातले मनाङमा यार्सा संकलन प्रभावित भएको छ ।
यार्सा संकलन सिजन सुरु भएसँगै लेक गएका यार्सा संकलकहरू हिमपातका कारण ओडारमा बसेका छन् । यार्सागुम्बा संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत २३ चैतमा बसेको बैठकले स्वीकृति दिएपछि मनाङसँगै गोरखा, लमजुङका स्थानीय पनि यार्सागुम्बा संकलन गर्न मनाङको लेकमा पुगेका थिए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार मनाङभरि करिब एक हजार पाँच सयदेखि दुई हजार जनाको हाराहारी संकलक लेकमा पुगेका छन् । चार हजार पाँच सय मिटरमाथि हिमपात हुनसक्छ । त्यही ठाउँमा यार्सा पाइन्छ । लेकमा हिमपात भएकाले यार्सा संकलक प्रभावित भएको हुन सक्ने उनले बताए । यार्चा संकलनका लागि बाहिरी जिल्लाका मात्रै नभएर मनाङी पनि लेकमा पुगेका छन् ।
संकलकलाई एक्याप मातहतको संरक्षण क्षेत्र व्यवस्थापन समितिले पुर्जी जारी गर्ने गरेको छ ।गत वर्ष स्थानीय र जिल्लावासीले मात्रै यार्सा टिपेका थिए भने त्यसअघिको वर्ष कोरोना संक्रमण जोखिमका कारण यार्सा संकलन बन्द थियो । संकलन गर्न आउनेका लागि स्थानीयलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ तोकेको छ ।
जिल्लावासीलाई १५ हजार रुपैयाँसम्म र जिल्ला बाहिरका व्यक्तिलाई २० हजार रुपैयाँ तोकेको छ । कतिपय लेकमा प्रतिव्यक्ति ३५ हजारसम्म लिने गरेको यार्सा संकलकहरू बताउँछन् ।एक्यापका अनुसार गतवर्ष ८१ किलो यार्चा संकलन भएकामा २४ लाख ३० हजार रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्षको तुलनामा यस पटक बढी संकलन हुने अपेक्षा छ । मनाङमा यार्सागुम्बा पाइने क्षेत्रमा संकलन गर्न जाने संकलकहरूले १० वटा यार्सागुम्बा टिपिएकामध्ये एउटा सोही स्थानमा छाड्नुपर्ने प्रावधान छ ।
मनाङको नाम्ग्य खर्क, किचो लेक, यक खर्क, घुम्रे लेक, पिसाङ लेक, नाप्ले लेक, फुकु लेक लगायतका लेकहरु यर्सागुम्बा बढी पाइने स्थानमा पर्दछन् । जिल्ला भित्र यार्सागुम्बाको सिजन सुरु भएसंगै सुरक्षा ब्यबस्थामा कडाई गरिएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी प्रेमसागर केसीले बताए ।
मनाङमा वैशाखदेखि असार मसान्तसम्म यार्सागुम्बाको लागि उपयुक्त सिजन हाे ।