लमजुङका स्थानीय तहहरूलाई तीन अर्ब १७ करोड ४३ लाख रुपैयाँ बजेट विनियोजन
पोखरा
आगामी आर्थिक वर्ष २०७९-०८० लागि सङ्घीय सरकारले सार्वजनिक गरेको बजेटअनुसार लमजुङका स्थानीय तहहरूलाई तीन अर्बभन्दा बढी बजेट प्राप्त हुने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा पेस गरेको बजेटमा लमजुङका स्थानीय तहहरूलाई तीन अर्ब १७ करोड ४३ लाख रुपैयाँ विनियोजन गरिएको उल्लेख छ । जिल्लाका चार नगरपालिकाका लागि एक अर्ब ८५ करोड ६० लाख रुपैयाँ र चार गाउँपालिकाका लागि एक अर्ब ३१ करोड ८३ लाख रुपैयाँ विनियोजन भएको छ ।
चालु आर्थिक वर्ष ०७८-०७९ का लागि जिल्लाका आठ स्थानीय तहलाई दुई अर्ब ८४ करोड ६७ लाख विनियोजन भएको थियो तर, सङ्घीय सरकारले चालु आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षका लागि ३२ करोड ७६ लाख बढी बजेट विनियोजन गरेको हो ।
आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये सर्वाधिक सदरमुकामसमेत रहेको बेसीशहर नगरपालिकाले सबैभन्दा धेरै ४८ करोड १५ लाख बजेट पाउने भएको छ । बेसीशहरले चालु आर्थिक वर्षमा ४६ करोड ३५ लाख बजेट पाएको थियो । जिल्लाको राइनास नगरपालिकाले भने ४७ करोड ५० लाख रुपैयाँ पाउने भएको छ । चालु आर्थिक वर्षमा राइनासले ३८ करोड ५९ लाख रुपैयाँ बजेट पाएको थियो ।
मध्यनेपाल नगरपालिकाले ४६ करोड ४५ लाख रुपैयाँ, सुन्दरबजार नगरपालिकाले ४३ करोड ५० लाख, दोर्दी गाउँपालिकाले ४३ करोड ६९ लाख, मर्स्याङ्दी गाउँपालिकाले ३७ करोड ३२ लाख र दूधपोखरी गाउँपालिकाले २५ करोड ५३ लाख रुपैयाँ बजेट पाउने भएको छ ।
आगामी आर्थिक वर्षका लागि जिल्लामा सबैभन्दा कम बजेट क्होलासोँथार गाउँपालिकाले पाउने भएको छ । क्होलासोथारका लागि २५ करोड २९ लाख रुपैयाँ बजेट विनियोजन भएको हो ।