हङकङको ‘तैरिरहने जम्बो रेस्टुरेन्ट’ दक्षिण चीन सागरमा डुब्यो
पोखरा
हङकङको महत्वपूर्ण पहिचान मानिने ‘तैरिरहने जम्बो रेस्टुरेन्ट’ डुबेको छ । विगत ५० वर्षदेखि सञ्चालनमा रहेको जम्बो रेस्टुरेन्ट अज्ञात स्थानतर्फ जाने क्रममा दक्षिण चीन सागरमा डुबेको उक्त रेस्टुरेन्ट सञ्चालक कम्पनीले जानकारी दिएको छ ।
रेस्टुरेन्टको सञ्चालक कम्पनी अबेरदिन रेस्टुरेन्ट इन्टरप्राइजेजका अनुसार रेस्टुरेन्ट आइतबार दक्षिण चीन सागरको पारासेल द्विप क्षेत्रनजिकै डुबेको हो । रेस्टुरेन्टलाई लैजाने क्रममा खतरनाक अवस्थाको सामना गरिएको र त्यहाँ पानी पस्न थालेको कम्पनीले जनाएको छ ।
दुर्घटनास्थलमा पानीको स्तर १ हजार मिटर भन्दा धेरै रहेका कारण रेस्टुरेन्टलाई जोगाउन नसकिएको कम्पनीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाप्रति दुख व्यक्त गरेको छ । यद्यपि घटनामा चालक दलको कोही सदस्य पनि घाइते नभएको कम्पनीले जनाएको छ ।
अज्ञात स्थानतर्फ लैजानुअघि समुद्री इन्जिनियरहरुले रेस्टुरेन्टको राम्रो निरीक्षण गरेको र आवश्यक सबै स्वीकृति प्राप्त गरिएको रेस्टुरेन्ट सञ्चालकले जनाएको छ । नयाँ सञ्चालकलाई हस्तान्तरण गर्नका लागि यसलाई अज्ञात स्थानतर्फ लगिएको कम्पनीले जानकारी दिएको छ ।
कोरोना भाइरसको महामारीका बेला सन् २०२० मार्च महिनादेखि यो रेस्टुरेन्ट बन्द रहेको थियो । उक्त रेस्टुरेन्टमा ३० लाख भन्दा धेरै मानिसहरु पुगेको बीबीसीले जनाएको छ ।
–बीबीसी