पोखरा महानगरपालिकाले जग्गा संरक्षण गर्दै पार्किङस्थल निर्माण गर्ने
पोखरा
कास्की जिल्ला अदालतले पोखरा उपत्यका नगर विकास समितिको मातहत ल्याएको बहुमूल्य जग्गामा पार्किङस्थल बनाइने भएको छ । समितिको समेत जिम्मेवारी सम्हालेको पोखरा महानगरपालिकाले जग्गा संरक्षण गर्दै पार्किङस्थल निर्माणको काम थालेको छ ।
जिल्ला अदालत कास्कीको असार १३ गतेको फैसलाबाट समितिलाई प्राप्त भएको पोखरा–९, न्युरोडको ५ रोपनी ४ आना जमिन संरक्षणको काम थालिएको समितिले जनाएको छ । सो जमिनमा बनेका संरचनाबाहेकका क्षेत्र सम्याएर संरक्षणको काम थालिएको पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं समितिका सदस्यसचिव बलराम रिजालले बताए ।
उनका अनुसार जमिन तत्कालका लागि पार्किङ प्रयोजनका लागि प्रयोग हुन्छ ।’महानगर प्रमुख धनराज आचार्यले गत साता उपत्यका नगर विकास समिति अध्यक्षको पदभार ग्रहण गर्दै पोखरा उपत्यका नगर विकास समितिको नाममा कति जमिन कस्तो अवस्थामा छ भनेर एक महिनाभित्र सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका थिए ।