कारागार लमजुङमा क्षमताभन्दा तेब्बर कैदी बन्दी, व्यवस्थापनमा समस्या
पोखरा
जिल्ला कारागार लमजुङमा क्षमताभन्दा तेब्बर कैदी बन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ ।
कारागारको क्षमता ३५ जनाको भए पनि अहिले एक सय दुई जना कैदी बन्दी राखिएको छ । कारागारमा ६ महिला र ९६ पुरुष छन् । कारागारका जेलर सुवास केसीका अनुसार कारागारको क्षमता ३५ जनाको मात्रै हो । ‘भवन जीर्ण छ, कैदी बन्दीको सङ्ख्या बढेको बढ्यै छ,’ उनले भने, वैकल्पिक व्यवस्थापन हुन नसक्दा कैदीबन्दीहलाई बस्न समस्या भएको छ ।’
सुत्ने बस्न समेत समस्या भएको कैदीहरूको गुनासो हुने गरेको उनी बताउँछन् । फरार अभियुक्तहरू धमाधम पक्राउ पर्न थालेका कारण कैदी बन्दी बढेका हुन् । ०२८ सालमा स्थापना भएको कारागार ०७२ को भूकम्पले जीर्ण बनेको छ ।
कारागारका चौकीदार नवीन गुरुङले क्षमताभन्दा तेब्बर कैदी बन्दी भएको कारागारमा वैकल्पिक व्यवस्थापन हुन नसक्दा कैदी बन्दीलाई सुत्न र शौचालय जान समस्या भएको बताए ।