लमजुङको पसगाउँमुनिको सडकबाट पहिरो खस्दा गाउँ नै जोखिममा
पोखरा
दोर्दी गाउँपालिका–७ फलेनीमा पहिरो जाँदा वडा कार्यालय, विद्यालय साथै बस्ती नै जोखिममा परेको छ ।
वडाध्यक्ष रिसमाया गुरुङका अनुसार पहिरोले वडा कार्यालय, महेन्द्र ज्योति प्रावि र उपल्लो माझखर्कको बस्ती जोखिममा छन् । पहिरोले सडक बगाएको छ । विद्यालयको कोठामा समेत भल पसेको छ । वडा कार्यालय जोगाउन यही असारमा २ लाख रुपैयाँ बजेटले तारजाली ल्याएर ग्यावियन पर्खाल उठाए पनि पहिरोले त्यसमै क्षति पुर्याएको छ । पहिरो सफा गर्ने क्रममा सर्पले टोकेर २ जना घाइते भएको उनले बताइन्
असार पहिलो साता परेको वर्षाले पहिरो जाँदा बेंसीसहर नगरपालिका–४ का अध्यक्ष गमबहादुर गुरुङ घाइते भए । घर पछाडिबाट पहिरो पस्दा उनकी आमा जमुना गुरुङ र बुवा डिलराम गुरुङ घाइते भए । उनका अनुसार परिवार उपचारकै क्रममा छ । यस क्षेत्रमा यसअघि पहिरो आएको थिएन । पहिरोले सुन्दरबजार नगरपालिका–११, भागुका डीलबहादुर दुराको गोठ बगाउँदा एउटा भैंसी परेको थियो । तुर्लुङका लालबहादुर दुराको गोठ पनि बगाएको छ ।
जिल्ला विपद व्यवस्थापन समितिका अनुसार असार २ देखि १५ गतेसम्म जनजीवनलाई प्रभावित पार्ने गरी १६ ठाउँमा पहिरो गएका छन् । डुम्रे–बेंसीसहर सडक खण्डको उदिपुर र बेंसीसहर–मनाङ सडक खण्डको खरखरेबाहेक सबै पहिरो नयाँ ठाउँमा गएको जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर कार्कीले बताए ।
जिल्लाका ट्राफिक प्रहरी प्रमुख सई विष्णुबहादुर नेपालीका अनुसार ग्रामीण सडकमा पहिरोका कारण सवारी आवागमन असहज भएको छ । कतिपय ठाउँमा हिलो र बाढीपहिरोले सवारी आवागमन बन्द भएका छन् । कुनै ठाउँमा बन्द हुँदै खुल्दै पनि गरेका छन् ।
जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले भौगोलिक अवस्था अनुसार वर्षायाममा नागरिकलाई सचेत गराएको बताएका छन् ।