पर्यटकीय नगरी बन्दीपुरको विकासका लागि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण
पोखरा
तनहुँको पर्यटकीय नगरी बन्दीपुरको विकासका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराइएको छ ।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको नेतृत्वमा सोमबार बालुवाटारमा भएको भेटमा गण्डकी प्रदेशकै दोस्रो पर्यटकीय गन्तव्यको रूपमा रहेको बन्दीपुरको समग्र विकासका लागि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराइएको हो । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको बन्दीपुरलाई पर्यटनको केन्द्रबिन्दु बनाउन सरकारको तर्फबाट सहयोग गरिदिन गाउँपालिकाका अध्यक्ष थापाले प्रधानमन्त्री देउवासमक्ष आग्रह गरे ।
भेटमा सहभागी नेपाली काङ्ग्रेसका नेता स्थानीय रेशम गुरुङका अनुसार प्रधानमन्त्री देउवाले बन्दीपुरलाई पर्यटकीय गन्तव्यको रूपमा थप विकास गर्न सरकारको सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।