पोखरामा व्यक्ति र संस्थाका शौचालय सार्वजनिक रुपमा उपलब्ध गराउन आव्हान
पोखरा
पोखराका फुटपाथ तथा सार्वजनिक सवारी साधनमा यात्रा गर्नेहरुलाई लक्षित गरी पोखरा महानगरले शौचालय उपलब्ध गराउन सरोकारवालाहरूलाई आव्हान गरेको छ ।
सरोकारवालाहरुमा व्यक्ति, बैंक तथा वित्तीय संस्था, होटल तथा रेष्टुरेण्ट, गैर व्यवसायिक तथा पेशागत संघसंस्था, विभिन्न कम्पनीलाई तोकिएको छ ।
मानिसहरुको बढ्दो चापसँगै सार्वजनिक शौचालयको अभाव देखिएकाले व्यक्ति तथा संस्थाका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न आव्हान गरिएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार सहरमा मानिसहरुको बढी आवतजावत हुने स्थान र भीडभाड हुने स्थानमा सार्वजनिक शौचालय छनौट गरिनेछ ।
यसरी छनौट गरिएका शौचालयको सफाई तथा स्यानिटरी सामग्रीमा महानगरले लागत साझेदारी गर्ने प्रमुख प्रशासकीय अधिकृत बलराम रिजालले जानकारी दिए ।
छनौट गरिएका शौचालयमा पहिचानयुक्त लोगो र संकेत राख्ने निर्णय साउन ३१ गतेको कार्यपालिकाको बैठकले निर्णय गरेको छ । यस्ता संस्था तथा व्यक्तिको नाम पोखरा महानगरपालिकाको वेभसाईटमा राखिने र महानगरबाट उपलब्ध हुने सेवा सुविधामा प्राथमिकता दिइने जनाइएको छ ।
स्थानीय तह निर्वाचनका बेलामा ‘अटेरी अभियान’ को तर्फबाट मेयरका पदका स्वतन्त्र उम्मेदवार गणेश पौडेलले महानगर क्षेत्रमा सार्वजनिक शौचालयको उपलब्धतालाई प्रमुखताका साथ उठाउँदै आएका थिए ।
काठमाडौंमा भने मेयर बालेन्द्र शाहले पदबहाल हुने वित्तिकै यस्तो आव्हान गरेका थिए । उनको आव्हान बमोजिम काठमाडौंको केही बैंक तथा व्यापारिक प्रतिष्ठानले आफ्ना शौचालय निःशुल्क उपलब्ध गराएका थिए ।
काठमाडौंमा बालेनले सार्वजनिक शौचालयको आव्हान गरेपछि पोखराको न्युरोडमा सञ्चालित कफी घरले यस अघि नै आफ्ना शौचालयलाई सार्वजनिक घोषणा गरिसकेको छ ।