पोखराका मेयर आचार्यको सम्पत्ति विवरण सार्वजनिक
पोखरा
पोखरा महानगरपालिका मेयर धनराज आचार्यले बुधबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
सम्पत्ति विवरण अनुसार उनले पुर्ख्यौलीबाहेक ५० करोड रुपैयाँ निजी आर्जन गरेका छन् । उनले पोखरा र काठमाडौंमा चारवटा घर र जग्गा रहेको खुलाएका छन् । श्रीमती पुष्पाकुमारीको नाममा दुई ठाउँमा घर जग्गा देखाएका छन् । पोखरा महानगरपालिका–९ मा २८९ वर्गमिटर जग्गामा उनको दुईवटा घर छ । त्यसको मूल्य ९ करोड २५ लाख रुपैयाँ रहेको आचार्यले उल्लेख गरेका छन् ।
श्रीमती पुष्पाकुमारीकै नाममा काठमाडौं सीता पाइलामा मेयर आचार्यको ९२५ वर्गफिटको २ कित्ता जग्गामा उनको घर छ । जसको मूल्य १ करोड ८५ लाख रुपैयाँ रहेको मेयर आचार्यले खुलाएका छन् । पोखरा महानगरपालिका–११ मा आफ्नै नाममा दुई कित्ता जग्गा र घर रहेको मेयर आचार्यले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । तर, त्यहाँ कति क्षेत्रफल छ भन्ने नखुलाएका मेयर आचार्यले त्यसको मूल्य भने ३ करोड ५० रुपैयाँ पर्ने विवरणमा सार्वजनिक गरेका छन् ।
यसैगरी दोलखामा ५८ रोपनी ७ आना जग्गा मेयर आचार्यले खरिद गरेका छन् । जसको मूल्य ८७ लाख रुपैयाँ पर्ने उनले खुलाएका छन् । नगद र बैंक मौज्दात गरी १५ लाख नगद मौज्दात राखेका मेयर आचार्यको २५ करोड ९९ लाख ४५ हजार ६ सय १६ रुपैयाँ बराबरको सेयर र विभिन्न कम्पनीमा लगानी छ । कुन/कुन कम्पनीमा कति सेयर छ भन्ने विषय भने मेयर आचार्यले खुलाएका छैनन् ।
मादी गाउँपालिकास्थित सुपर मादी हाइड्रो र हेवा खोला हाइड्रो पावरका प्रमुख सञ्चालक रहेका आचार्यसमेत संलग्न तमोर जलविद्युत आयोजना निर्माणको चरणमा रहेको छ । उनको मेगा बैंक र सिटी डेभलपमेन्ट बैंकमा मेयर आचार्यको प्रमुख सेयर छ । मेयर आचार्यले आफूसँग २ करोड रुपैयाँ बराबरको कार, भ्यान र ३ वटा स्कुटर रहेको खुलाएका छन् । टोयटा र्याभ फोर, रेनल्र्ट क्विड कार, ओम्नी भ्यान एक वटा र ३ वटा स्कुटर आफूसँग रहेको मेयर आचार्यले सम्पत्ति विवरणमा सार्वजनिक गरेका छन् ।
जम्माजम्मी ४३ करोड ६१ लाख ४५ हजार ४५ हजार ६ सय १६ रुपैयाँ बराबरको सम्पत्ति देखाएका मेयर आचार्यले २ करोड ८५ लाख रुपैयाँ ऋण पनि देखाएका छन् । अहिले ऋणबाहेक ४० करोड, ७६ लाख, ४५ हजार ६ सय रुपैयाँ बराबरको आफूसँग सम्पत्ति रहेको मेयर आचार्यले सार्वजनिक गरेका छन् । यस्तै मेयर आचार्यसँग ५ तोला हिरा, ५४ तोला सुन र ३८ तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।