मनाङबाट २३ करोड ५५ लाख रुपैयाँको यार्चा बिक्री
पोखरा
हिमाली जिल्ला मनाङबाट कम्तीमा २३ करोड ५५ लाख रुपैयाँ बराबरको यार्चागुम्बु बिक्री भएको छ । मनाङमा बाह्य र स्थानीयले संकलन गरेर व्यापारीलाई यार्चागुम्बु बिक्री गरिन्छ ।
आर्थिक वर्ष २०७८/७९ मा मनाङमा व्यापारीले सरकारलाई प्रतिकिलो ३१ हजार रुपैयाँका दरले राजस्व बुझाउँछन् । यार्चाबाट मात्रै उक्त वर्ष ३६ लाख २९ हजार ५ सय १ रुपैयाँ राजस्व संकलन भएको छ ।
संकलकले व्यापारीलाई प्रतिकिलो यार्चा नराम्रो १५ लाखदेखि १६ लाख रुपैयाँसम्म र राम्रोको २५ लाखदेखि ३० लाख रुपैयाँसम्म बिक्री गर्छन् । व्यापारी यार्चा संकलनस्थलमै पुग्छन् । धादिङको रि–गाउँका एक्का तामाङका अनुसार व्यापारीले प्रतियार्चा ४ सयदेखि ५ सय रुपैयाँमा संकलनस्थलमै किन्छन् ।
एक किलोमा ठूलो मात्राका ३ हजार २ सय हाराहारीका यार्चा अट्ने उनले बताए । सानो यार्चा भने किलोमा ४ हजारसम्म अट्ने उनले बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले काठमाडौं लगेर चिनियाँ व्यापारीलाई प्रतिकिलो यार्चा ५० लाख रुपैयाँसम्म बिक्री गर्ने जानकारी आएको बताए ।
एक्यापद्वारा गठित संरक्षण क्षेत्र व्यवस्थापन समितिले सेवा दस्तुरबापत प्रतिकिलो यार्चाको १० हजार रुपैयाँ लिने गरेका हुन् । सरकारलाई तिर्ने राजस्व भने उनीहरूले एक्यापमार्फत डिभिजन वन कार्यालयमा जम्मा गर्छन् । वित्तीय आयोगको खातामा जम्मा हुने उक्त राजस्व संघीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले २५ प्रतिशत र स्थानीय तहले २५ प्रतिशत पाउँछन् ।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढुंगानाले मनाङको प्रायः सबै क्षेत्र एक्यापको संरक्षित क्षेत्रभित्र पर्ने भएकाले वनपैदावारका सबै संरक्षण, निकासीलगायतलाई एक्यापले हेर्दै आएको बताए ।