आजदेखि आगामी निर्वाचनका लागि दल दर्ता सुरु गर्दै
पोखरा
आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज निर्वाचन आयोगले दल दर्ता सुरु गर्दैछ। आयोगका अनुसार साउन ३१ गतेसम्म दल दर्ता गराउन पाइनेछ ।
आयोगमा साउन १९ सम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई संविधानको धारा २७१ बमोजिम आज साउन २२ गते देखि साउन ३१ गतेसम्म दल दर्ता गर्न आह्वान गरिएको हो । दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो चुनाव भएको मिति उल्लेख गर्नुपर्ने आयोगले जनाएको छ ।
दलले निवेदन दिँदा प्रतिनिधि सभा सदस्यको छुट्टै र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रूपमा सात वटा प्रदेशका लागि छुट्टाछट्टै निवेदन पेस गर्नुपर्ने आयोगको सूचनामा जनाइएको छ ।