पोखरामा असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै



पोखरा

मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ ।

प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् । नेपालको खेलकुदको इतिहासमा पोखरामा चार दशकपछि दोस्रोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो । यसअघि २०४० चैत १२ देखि २० गतेसम्म पोखरामा ‘दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता’ आयोजना गरिएको थियो ।

प्रतियोगिता आयोजक कार्यकारिणी समितिका सदस्यसचिव फणिन्द्र पौडेलका अनुसार प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र गैरआवासीय नेपाली सङ्घ (एनआरएन)का खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । प्रत्येक टोलीबाट कम्तीमा तीन सय ३५ महिला र तीन सय ७४ पुरुष खेलाडीको सहभागिता रहने छ ।

३६ खेल खेलाइने 

नवौँ राष्ट्रिय खेलकुदमा फुटबल, क्रिकेट, टेनिस, एथलेक्टिस, भारत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबलटेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खोखो, कराँते, जिम्न्याष्टिक, पौडी र कबड्डी खेल समावेश गरिएको छ । यस्तै हयाण्डबल, जुडो, कुस्ती, फुटबल, कराते, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, आइटिएफ तेक्वान्दो, सेपाताक्रोे, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन र प्याराग्लाइडिङ पनि प्रतियोगितामा समेटिएका छन् ।

प्रतियोगिता धेरैभन्दा धेरै खेलाडीबीच प्रतिस्पर्धा होस् भन्ने हेतुले खेलाडी तयार गर्न प्रत्येक प्रदेशलाई रु ४९ लाखका दरले रकम उपलब्ध गराएको युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले जानकारी दिए । मन्त्रालयका अनुसार प्रतियोगिता भव्य र सभ्यरूपमा सम्पन्न गर्न गण्डकी प्रदेश सरकारले हरतवरले सहयोग पुर्‍याउने ऐक्यबद्धतासहित प्रतिबद्धता जनाइसकेको छ ।

प्रतियोगिताअन्तर्गत १८ विधाका खेल पोखरामा हुनेछन् भने केही खेल गण्डकी प्रदेश मातहतका अरु जिल्लामा सञ्चालन गरिनेछन् । खेलाडी, प्रशिक्षक, आयोजक समिति, निर्णायकमण्डलसहित करिब १२ हजार पाँच सय जना प्रत्यक्ष सहभागी हुने उक्त प्रतियोगिता खेल उत्सवका रूपमा रहने रेग्मी बताउँछन् ।

दश लाख रुपैयाँको ‘रनिङ ट्रफी’

राष्ट्रिय खेलकुद प्रतियोगितामा नयाँ सुरुआतका रूपमा यसपटकदेखि सुन र चाँदीजडित करिब रु १० लाख लागतमा तयार गरिने ‘रनिङ ट्रफी’को व्यवस्था गरिएको छ । तीनपटक लगातार प्रतियोगिता जित्ने टोलीलाई उक्त ट्रफी प्रदान गरिनेछ । विश्वका अन्य मुलुकमा पनि यस्तो अभ्यास रहेको सचिव रेग्मीले बताए । प्रतियोगिताअन्तर्गत व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण पदक जित्नेलाई रु २५ हजार तथा सामूहिकतर्फका स्वर्ण पदकधारीलाई रु १५ हजार नगद पुरस्कार प्रदान गरिने सचिव रेग्मीले जनाए ।

सहभागिता, समन्वय र सहजीकरण गर्न आह्वान

प्रतियोगितालाई सफल तुल्याउने सिलसिलामा सहभागिता, समन्वय र सहजीकरणका लागि आयोजक समितिले सातै प्रदेश सरकारलाई पत्रचार गरिसकेको छ । सातै प्रदेशका मुख्यमन्त्री, खेलकुद मन्त्रालका पदाधिकारी र प्रमुख सचिवलाई भेटेर अधिकभन्दा अधिक खेलाडी सहभागी गराई खेलक्षेत्रको प्रतिस्पर्धाको स्तरवृद्धिमा सहयोग पुर्‍याउन अनुरोध गरिने सचिव रेग्मीले बताए । प्रतियोगिताअन्तर्गत अधिकांश खेलमा महिला र पुरुषको समान सहभागिता रहनेछ ।

विगतमा सङ्घीय संरचनाको ढाँचामा हुँदै आएको राष्ट्रिय खेलकुद प्रतियोगिता यसपटक भने प्रादेशिक संरचनामा पहिलोपटक हुन लागेको सचिव रेग्मीले बताउँछन् । यसपटक गण्डकी प्रदेश खेलकुद परिषद्लाई सहआयोजकका रूपमा अघि सारिएको छ । सातै प्रदेशका खेलकुदमन्त्री रहने गरी समन्वय समिति गठन गरिएको छ ।

कोरोना सङ्क्रमण, पर्यटक आगमनको याम (सिजन) तथा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखैमा प्रतियोगिता हुन लागेकाले खेलाडी व्यवस्थापनलगायतमा केही चुनौती आउनसक्ने पूर्वानुमान गरी पर्याप्त होसियारी अपनाइएको आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja