पोखरामा भोली गिद्ध गणना गरिने
पोखरा
पोखरा पक्षी समाजको सक्रियतामा प्रत्येक वर्ष सेप्टेम्बरको पहिलो शनिबार गिद्ध गणना गर्ने गरिएअनुसार भोली पोखरामा गिद्ध गणना गरिने भएको छ ।
प्रत्येक वर्षको सेप्टेम्बरको पहिलो शनिबारलाई अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका रुपमा लिने गरिएको पोखरा पक्षी समाजका अध्यक्ष मन शान्त घिमिरेले जानकारी दिए । गिद्ध मरेको सिनो खाएर बाँच्ने पक्षी हुन् । यिनीहरूले हानिकारक कीटाणु सडेको मासु पचाउन सक्ने भएकाले यिनीहरूलाई प्रकृतिका कुचिकार भन्ने गरिएको छ ।
गणना विभिन्न सात ठाउँबाट गर्न लागिएको अध्यक्ष घिमिरेले जानकारी दिए । पोखराका घाचोक, पोखराको ल्यान्डफिल साइट, दोभिल्ला, पुम्दीकोट, हेम्जा, सेती नदीको तल्लो भूभाग (दुलेगौँडा सम्म) र दमौलीको ल्यान्डफिल साइटमा एकै समयमा बिहान ८ बजेदेखि ११ बजेसम्म गणना गर्न लागिएको उनले जानकारी दिए ।
सिनो खाएर हैजा, रेबिजजस्ता रोग फैलन नदिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्ध प्रकृतिको कुचिकार भएका कारण यसको संरक्षणमा जागरुकता आवश्यक रहेको उनको भनाइ छ ।
अघिल्लो वर्षको पोखरामा गरिएको गणनामा २२३ सेतो गिद्ध, ९१ डङ्गोर गिद्ध, २८ सुन गिद्ध, १३ सानो खैरे गिद्ध, नौ वटा हिमालयन गिद्ध र एक वटा राज गिद्ध पाइएको अध्यक्ष घिमिरेले जानकारी दिए ।
गिद्ध संरक्षणको उद्देश्यका साथ शुद्ध आहाराका लागि पोखराको घाचोकमा केही वर्षयता जटायु रेस्टुरेन्ट सञ्चालनमा आए पनि त्यसको प्रभावकारी व्यवस्थापन हुन सकेको छैन ।