ल्वाङ गाउँको अर्को विशेषता: सुन्दर हरियाली चियाबारी
पोखरा
कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ स्थित ल्वाङ गाउँ पर्यटकीय दृष्टिकोणले आफैं पनि प्रसिद्ध छ । पर्यटकलाई आर्कषण गर्ने यस गाउँको अर्को विशेषता हो सुन्दर हरियाली चियाबारी ।
स्थानीय हितकाजी गुरुङका अनुसार २०५३ सालतिर स्थानीयको एक टोलीलाई एक्यापले नेपालको पूर्वहुँदै दार्जिलिङसम्म अध्ययन अवलोकनका लगेको थियो । पूर्वमा चियाबारीको आकर्षण देखेर फर्किएपछि ल्वाङको माटोमा पनि चियाखेती हुन सक्छ भनेर एक्यापले नै माटो र मौसमको परीक्षण गरायो । परीक्षणले उपयुक्त देखाएपछि एक्यापले उक्त गाउँमा २०५३/२०५४ सालतिर चियाको बिरुवा रोपेको हो ।
चियाका बिरुवा राम्रोगरी हुर्कंदै गएपछि स्थानीयबीच छलफल गराएर व्यावसायिक चियाखेती गर्न एक्यापले उनीहरुलाईनै प्रेरित गर्यो । निःशुल्क बेर्ना उपलब्ध गरायो । स्थानीय उत्साहित भएर चियाको बिरुवा रोप्न थाले । मलिलो माटोमा राम्रो उत्पादन हुन थालेपछि यसलाई सहकारीमार्फत सञ्चालन गर्न थालियो ।
यहाँ वार्षिक उत्पादन एक हजार दुई सयदेखि १५ हजार केजीसम्म हुने गरेको छ । अहिले सो गाउँको चिया युरोपमा निर्यात हुन्छ भने यसको केही मात्रा स्थानीय बजारमा पनि पुग्ने गरेको छ । चियालाई तीन ग्रेडबाट छुटयाइएको प्रालीका व्यवस्थापक छत्रबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार एसएफटी, टीजीएफ ओपी, पिडी गरेर तीन ग्रेडमा वर्गीकरण गरिन्छ । प्रतिकिलो चियाको पहिलो दुई हजार पाँच सय, दोस्रो एक हजार पाँच सय र तेस्रो पाँच/सात सय रुपैयाँमा बिक्रीवितरण हुन्छ ।
उत्पादित चियालाई स्थानीय बजारमा भन्दा विदेशमा नै पठाउन सहज हुने भएकाले अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरिएको छ । नेपाली बजारमा लगानी बढी गर्नुपर्ने, ‘प्याकेजिङ कस्ट’ पनि बढी पर्ने भएकाले प्रशोधन गरेर पहिलो चरणमै कार्टुनबाट विदेश निर्यात गर्न गरिएको बस्नेतले बताए । ल्वाङ घुम्न आउने अधिकांशले चियाबारी घुम्ने उद्योगमा आएर चिया किनेर कोसेलीका रुपमा लाने गर्दछन् । घुम्न आउने प्रायःआफन्तलाई ग्रिन टी, ब्ल्याक टी कोसेली बोकेर जाने गर्छन् ।
चिया उद्योगमा दैनिक ज्यालादारीमा स्थानीयले २५ देखि ३० जनाले रोजगारीमेत पाएका छन् । उत्पादित चिया वार्षिक चार/पाँच हजार केजी विदेश निर्यात हुन्छ । उत्पादन राम्रो हुने भनिए पनि प्राविधिक ज्ञान र आधुनिक प्रविधिको अभावले सोचेजस्तो प्रतिफल पाउन अझै नसकेको उनको गुनासो छ ।
चियाखेतीले अहिले ल्वाङलाई आत्मनिर्भर हुने एउटा राम्रो माध्यम पनि बनाइदिएको छ । चियाबारीले जति धेरै पर्यटक लोभ्याउँदै जान्छ त्यति नै आयआर्जनको माध्यम पनि बन्दै गएको छ ।
-जमुना वर्षा शर्मा/रासस