लमजुङमा दुध तथा मासु उत्पादनमा वृद्धि
पोखरा
लमजुङमा पशुजन्य उत्पादन मध्ये दुध तथा मासु उत्पादन वृद्धि भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
पशुजन्य उत्पादन मध्ये मासु भन्दा दुध उत्पादन औषत बढी वृद्धि भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. रुपेश श्रेष्ठले बताए । उनका अनुसार अघिल्लो आर्थिक वर्षमा १५ हजार नौ सय ८ मेट्रिक टन दुध उत्पादन भएकोमा गत आर्थिक वर्षमा १६ हजार एक सय ४३ मेट्रिक टन दुध उत्पादन भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा दुई सय ३४ मेट्रिक टन बढी दुध उत्पादन भएको कार्यालय प्रमुख डा.श्रेष्ठले बताए ।
कार्यालयका अनुसार उत्पादित दुधमध्ये गत आर्थिक वर्षमा भैँसी दुधमात्रै १२ हजार चार सय ६४ मेट्रिक टन उत्पादन भएको छ । सो बाहेक तीन हजार ६६७ मेट्रिक टन गाईकाे र १२ मेट्रिक टन चौरीको दुध उत्पादन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी पशुजन्य उत्पादनमध्ये करिब ८९ मेट्रिक टन मासु तथा माछा उत्पादन वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा तीन हजार ४५ मेट्रिक टन मासु तथा माछा उत्पादन भएकोमा गत आर्थिक वर्षमा तीन हजार एक सय ३४ मेट्रिक टन माछा तथा मासु उत्पादन भएको कार्यालयले जनाएको छ ।
जिल्लामा उत्पादित मासुमध्ये सबैभन्दा बढी राँगा तथा भैँसीको मासु उत्पादन भएको छ । गत आर्थिक वर्षमा राँगा तथा भैँसीको मासु मात्रै एक हजार तीनसय १७ मेट्रिक टन उत्पादन भएको छ । सो बाहेक नौ सय ५५ मेट्रिक टन खसी, ६ सय ८८ मेट्रिक टन कुखुरा, दुई सय ३२ मेट्रिक टन बङ्गुर, नौ सय २५ मेट्रिक टन भेडाको मासु उत्पादन भएको छ ।
सो बाहेक जिल्लामा ४७ दशमलव ८ मेट्रिक टन माछा उत्पादन भएको कार्यालयले जनाएको छ । यसैगरी जिल्लामा पशुजन्य उत्पादन मध्ये गत आर्थिक वर्षमा एक करोड७० लाख १६ हजार गोटा अण्डा उत्पादन भएको छ । अघिल्लो आर्थिक वर्षमा जिल्लामा एक करोड ७० लाख १४ हजार गोटा अण्डा उत्पादन भएको थियो ।
जिल्लामा पशुजन्य उत्पादन मध्ये औषतमा माछा र अण्डा उत्पादन वृद्धि धेरै नभएको कार्यालयको तथ्यांकले देखाएको छ । खपत कम हुँदा अण्डा उत्पादनका लागि लमजुङ आत्मनिर्भर भए पनि माछा उत्पादनका निम्ति भने जिल्ला अझै परनिर्भर रहेको कार्यालय प्रमुख डा. श्रेष्ठको भनाइ छ ।
जिल्लामा व्यावसायिक रूपमा विभिन्न क्षेत्रमा माछा पालन पनि गरिएका छन् । यद्यपि जिल्लामा उत्पादित माछा मागअनुसार अत्यन्तै न्यून पाइएको छ । विशेष गरी जिल्ला सदरमुकाम बेसीशहर सहित मुख्य बजार क्षेत्रहरूमा जिल्लामै उत्पादन गरिएका माछा कम मात्रै आयात हुने गरेको छ । सदरमुकाम सहितका मुख्य बजारहरूमा तराइ देखि ल्याइएका माछाहरू बिक्री वितरण गरेको पाइन्छ ।
यस्तै मासु प्रायोजनका निम्ति अत्यधिक रूपमा कुखुरा बाख्रा, भेडा बङ्गुर पालिएका छन् । कार्यालयको गत वर्षको तथ्यांकअनुसार जिल्लामा दुई लाख ७७ हजार ५१० कुखुरा पालिएका छन् भने एक लाख ३८ हजार चार सय ५० बाख्रा, १३ हजार पाँच सय ४० भेडा र चार हजार ९६५ बङ्गुर पालिएको तथ्यांक छ ।