दसैँ बिदामा पनि सबै पेट्रोल पम्पहरू खुला रहने
पोखरा
नेपाल आयल निगमले दसैँ बिदाका समयमा आफ्ना सबै पेट्रोल पम्पहरू खुला रहने जनाएको छ । निगमले एक सूचना प्रकाशित गरी दसैँका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दसैँको बिदामा १३ डिपोहरुसमेत खुला राख्ने जनाएको छ ।
दसैँमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि पम्पहरू खुला राख्ने निगमले निर्णय गरेको निगमका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिए । उनका अनुसार प्रदेश १ को विराटनगर र मधेस प्रदेशको अमलेखगञ्जमा असोज १६, २९ र २१ गते डिपो खुला हुने छ भने वाग्मती प्रदेशको थानकोट र गण्डकीको पोखरामा असोज १५, १६, १८ र २१ गते खुला रहनेछन् ।
यसैगरी लुम्बिनी प्रदेशको भैरहवामा असोज १५, १६, १७, २१ र २२ गते र कर्णाली प्रदेशको सुर्खेतमा असोज १६ र २१ गते डिपोहरू खुला हुनेछन् । उता सुदूरपश्चिम प्रदेशको धनगढीमा असोज १६, १७ र २१ गते तथा शाखा कार्यालय चारआलीमा १६ र २१ गते डिपोहरू बिदाको दिनमा खुला रहनेछन् । यसैगरी नेपालगञ्ज, धनुषा, वीरगञ्ज, दाङ र दिपायलमा रहेको निगमका डिपोहरू पनि २१ गतेसम्म खुला हुने बताइएको छ ।
निगमका अनुसार हाल दैनिक रुपमा पेट्रोल तीन हजार पाँच सय किलोलिटर र डिजल पाँच हजार ६ सय किलोलिटर खपत भइरहेको छ ।