कास्कीबाट १६ जनाले लिए उम्मेदवारी फिर्ता
पोखरा
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कास्कीबाट उम्मेदवारी दिएका १६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । फिर्ता लिनेमा प्रतिनिधिसभातर्फ ७ र प्रदेशसभाका ९ जना छन् ।कास्की निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका राप्रपा नेपालका महेन्द्र खत्री र स्वतन्त्रबाट घननाथ सापकोटा र आनन्द सापकोटाले उम्मेदवारी फिर्ता लिएका हुन् । यसैगरी निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा ‘१’ बाट भरतराज तिवारी र प्रदेश २ बाट दिलमाया मुक्तान (पहारी) ले उम्मेदवारी फिर्ता लिएको र दुवै जनाले स्वतन्त्रमा उम्मेदवारी दिएको निर्वाचन अधिकृत विष्णुप्रसाद आचार्यले बताए ।
यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका राप्रपा नेपालका अजय विश्वकर्माले फिर्ता लिएको निर्वाचन अधिकृत दयाशंकर अधिकारीले बताए । उनका अनुसार क्षेत्र नम्बर २ को प्रदेशसभा ‘१’ बाट जसपाका ईश्वरकुमार गुरुङ, राप्रपा नेपालका दीपक विश्वकर्मा र स्वतन्त्र उम्मेदवारी दिएका सुन्दर बरालले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
यस्तै कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका एमालेका बागी उम्मेदवार जगन्नाथ बास्तोला, राप्रपा नेपालका राजाराम दाहाल र स्वतन्त्रका एमकृष्ण पौडेलले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले बताए । निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश १ क्षेत्रबाट जसपा नेपालका जगतबहादुर गुरुङ र स्वतन्त्रबाट लीलाधर ढकाल र चन्द्रबहादुर गुरुङ एवं प्रदेश २ बाट राप्रपा नेपालकी चीना दवाडीले उम्मेदवारी फिर्ता लिएका हुन् ।
निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट नेकपा एसको भागमा परेपछि असन्तुष्ट कांग्रेस नेता महादेव गुरुङले भने उम्मेदवारी फिर्ता लिएनन् । यसैगरी सत्ता गठबन्धनबाट कास्की निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएका माओवादी केन्द्रका रामजी बरालविरुद्ध बागी उम्मेदवारी दिएकी अनिता भुर्तेलले पनि उम्मेदवारी फिर्ता लिइनन् ।योसँगै कास्की निर्वाचन क्षेत्र नं. १ प्रतिनिधिसभातर्फ १४ प्रदेशसभा १ मा ८ र २ मा ७ उम्मेदवार कायम रहेका छन् । यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ १७, प्रदेशसभा १ मा ८, २ मा ६ उम्मेदवार चुनावी मैदानमा छन् । त्यस्तै निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधिसभातर्फ १५, प्रदेशसभातर्फ १ र २ मा ७/७ जना उम्मेदवार चुनावमा होमिएका छन् ।