पैदलमार्ग अवरुद्ध भएपछि उत्तरी गोरखामा खाद्यान्न संकटको जोखिम
पोखरा
पहिरोले पैदलमार्ग अवरुद्ध भएपछि उत्तरी गोरखामा खाद्यान्न संकटको जोखिम बढेको जनप्रतिनिधिहरूले बताएका छन् ।
असार तेस्रो साता गएको पहिरोका कारण विही, प्रोक, ल्हो र सामागाउँ पुग्ने पैदलमार्ग क्षतिग्रस्त भएको छ । वडा कार्यालयको अगुवामा बाटो मर्मत गरी जेनतेन पैदलयात्रु र पर्यटक आउन थालेका छन् । तर, खच्चड आउजाउ गर्न सक्ने अवस्था छैन ।
यसअघि बर्खायामलाई मध्येनजर गर्दै जेठमा नुन, तेल, चामललगायत दैनिक उपभोग्य सामग्री ढुवानी भएकोमा त्यसयता ठप्प छ । जसका कारण खाद्य संकटको जोखिम बढेको भन्दै समाधानका लागि पहल गरिदिन जनप्रतिनिधिले सरकारसँग अपिल गरेका छन् । चुमनुव्री गाउँपालिका अध्यक्ष निमा लामाले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर समस्या समाधानका लागि सरकारसँग समन्वय गरिदिन आग्रह गरेको बताए ।
मंगलबार काठमाडौं खुमलटारस्थित निवासमै पुगेर दाहालसामू यथाशीघ्र खाद्यान्नको तत्काल व्यवस्था मिलाइदिन सरकारसँग समन्वय गरिदिन आग्रह गरेको लामाले सुनाए । उनका अनुसार दाहालले गृहमन्त्री बालकृष्ण खाँणलाई टेलिफोन गरेर खाद्यान्न पुर्याउनेबारे छलफल गरेका थिए । प्रमुख जिल्ला अधिकारीमार्फत पनि खाद्यान्न संकटको विषयमा गृह मन्त्रालयमा पहल भएको छ ।
काठेभर्याङबाट खच्चड जान नसक्ने भएपछि बुढीगण्डकी किनारबाट खच्चड हिँड्ने बाटोको ट्र्याक खुलाउने काम पनि सुरु गरिएको छ । यही पहिरोका कारण अहिले विही, प्रोक, ल्हो र सामागाउँवासी समस्यामा परेका हुन् ।
लोक्पास्थित डुयुखोला र सर्दिभीरबीचको पदमार्गको झन्डै ८ सय मिटर खण्ड पहिरोले ढाकेको छ । लोक्पा पहिरोकै कारण चुमभ्यालीको छेकम्पार र चुम्चेतसम्म पनि खच्चड पुग्न सकेको छैन । जेठमा ढुवानी भएको उपभोग्य सामग्री निख्रिँदै गएपछि चुमनुव्री–६ र ७ मा खाद्य संकटको जोखिम बढेको चुमनुव्री–७ का वडाध्यक्ष टासीदोर्जे लामाले बताए । वडावासी एकातर्फ कोरोना महामारी भन्दै चीनले लगाएको नाकाबन्दी र अर्कोतर्फ लोक्पा पहिरोको मारमा परेको उनले सुनाए ।
चुमनुव्री–६ चुम्चेतस्थित लोक्पाभीरमा साउन दोस्रो साताबाट झर्न सुरु भएको पहिरो अझै रोकिएको छैन । सर्दिभीरमा रहेको क्यान्टिलिभर पुललाई पनि असोज तेस्रो साताको पहिरोले क्षति पुर्याएको छ ।
क्यान्टिलिभर पुल पूरा मर्मत नभएसम्म खच्चड आउजाउ गर्न मुस्किल पर्ने स्थानीय बताउँछन् । बाटो बन्द हुँदा पर्यटकीय सिजनकै बेला स्थानीय होटल र पर्यटन व्यवसयीको लगानीमा समेत प्रभाव परेको छ । वर्षा नभएको समयमा पैदलयात्रु जबर्जस्ती हिँडे पनि छेकम्पारका झण्डै ३ सय परिवार पहिरो रोकिएर पूर्णरूपमा पदमार्ग खुल्ने आशामा छन् ।