मोटरसाइकलमा सल बेरिदाँ एक महिलाको चुँडियो हात
पोखरा
तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा मोटरसाइकलमा सवार एक महिलाको अचानक सल बेरिएर हात चुँडिन पुगेकाे छ ।
व्यास नगरपालिका-५ पाटनबाट शनिबार झापुटार आउँदै गरेको ग १७ प ३४७२ नम्बरको मोटरसाइकलमा सवार २९ वर्षीया रेनु थापाको हात चुँडिएको हो । दिदीको छोरासँग बाइकमा आउँदै गरेकी थापाको बाँया हात कुहिनो भन्दा तलबाट चुँडिएको प्रहरीले जनाएको छ । बाइकमा सवार घाइते थापाकी छोरी र चालक सकुशल छन्। बाइकमा सवार थापा मात्रै बाइकबाट लडेकी थिइन् ।
घाइते थापालाई तत्कालै दमौली अस्पताल ल्याएर उपचार गरिएको छ । थप उपचारका लागि उनलाई हेलिकप्टरबाट काठमाडौ लगिएको तनहुँ प्रहरीले जनाएकाे छ । समयमै उपचार गर्न सकिए हात जोड्न सकिने चिकित्सकले जनाएका छन् ।