लमजुङ कारागारका एक जना कैदीको मृत्यु
पोखरा
लमजुङ कारागारका एक जना कैदीको मृत्यु भएको छ ।
लमजुङकै दूधपोखरी गाउँपालिका १, देनस्वाँराका ३४ वर्षीय रोहनराज धितालको मृत्यु भएको प्रहरीले जनाएको छ । लमजुङ कारागार प्रमुख ताराबहादुर तामाङका अनुसार शनिबार साँझ अरुलाई चिया खुवाएर आफू पनि खाना खाएर सुतेका धितालले राति २ बजेतिर अप्ठ्यारो महसुस भएको बताएका थिए ।
सास फेर्न गाह्रो भएपछि तत्काल जिल्ला अस्पताल लमजुङ लगिएकोमा उपचार सुरु गर्नासाथ उनको मृत्यु भएको तामाङले बताए ।
तामाङका अनुसार उनी ‘आपराधिक उपद्रव’ कसुरमा २०७८ वैशाख १७ गतेदेखि कारागारमा थिए । प्रहरीले १२ वैशाख २०७८ मा पक्राउ परेका उनीविरुद्ध लमजुङ जिल्ला अदालतले २०७८ पुस २१ गते २ वर्ष कैद भुक्तानको फैसला गरेको थियो । कैद भुक्तान भएपछि २०८० वैशाख १२ गते छुट्नुपर्नेमा उनको मृत्यु भएको तामाङले बताए ।
प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार डाक्टरले उनको मृत्यु कुनै घटना दुर्घटनाबाट नभई प्राकृतिक भनेका छन् । हृदयघात, रक्तचापलगायत कारण मृत्यु भएको हुन सक्ने डाक्टरले भनेका उनले बताए । ‘कारागारभित्र सुतिरहेको अवस्थामा सास फेर्न गाह्रो भयो भनेपछि राति अस्पताल ल्याइयो । अस्पतालमा उपचार सुरु भयो । तर, मान्छे रहेनन्‚’ उनले भने । उनको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । कारागारमा अब महिला ५ जनासहित १ सय ३ जना कैदीबन्दी छन् ।