दुर्लुङ समाज पोखराद्वारा विन्ध्यवासिनी मन्दिर परिसर सरसफाइ
पोखरा
दुर्लुङ समाज पोखराद्वारा प्रसिद्ध धार्मिक पर्यटकीयस्थलका रूपमा परिचित विन्ध्यवासिनी मन्दिर परिसरमा सरसफाइ गरिएको छ ।
पर्वत जिल्लाको साविक दुर्लुङ घर भई पोखरामा बसोबास गर्दै आएका व्यक्तिद्वारा गठित दुर्लुङ समाज पोखराले आफ्नो प्रथम स्थापना दिवसको अवसर पारेर मन्दिर परिसरमा सरसफाइ गरेको हो । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले भक्तजनहरूको सहयोग र सद्भावबाट मन्दिरको विकासमा सहयोग पुगेको बताए । मन्दिरमा संस्कृत पाठशाला सञ्चालनमा रहेको र छिट्टै आयुर्वेदिक अस्पताल समेत सञ्चालनमा ल्याइने भनाइ श्रेष्ठको छ ।
दुर्लुङ समाज पोखराका अध्यक्ष बाबुराम शर्माले समाजको प्रथम स्थापना दिवसको अवसरमा माता विन्ध्यवासिनी मन्दिर परिसरमा सरसफाइ गर्न पाउनु खुसीको विषय भएको बताए । समाजका सचिव ईश्वरी पौडेलले समाजले सामाजिक क्षेत्रमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएको बताए ।