म्याग्दीमा भेडा मर्न थालेपछि किसान समस्यामा



पोखरा

म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडखानी क्षेत्रमा किसानले पालेका भेडा धमाधम मर्न थालेका छन् । दुई महिनादेखि भेडाले घाँस नखाने, च्यापु सुनिनेलगायतका लक्षण देखिएर मर्न थालेपछि ठूलो क्षति भएको स्थानीय भेडापालक किसान यामबहादुर छन्त्यालले बताउनुभयो ।

दुई महिनामा किसान छन्त्यालका २४ भेडा मरेका छन् । साना पाठापाठीदेखि ठूला भेडाखसी मरेर क्षति पुगेको छन्त्यालले बताउनुभयो । ठाडाखानीमा पूर्णबहादुर छन्त्याललेसमेत १७ भेडा मरेका बताउनुभयो । यहाँका करिब तीन दर्जन बढी घरमा परम्परागत रुपमा भेडापालन हुँदै आएको छ ।

भेडापालनको पकेट क्षेत्रका रुपमा यहाँ सिद्ध भेडापालन र मालिका भेडापालन दुई समूहमा आबद्ध भएर भेडापालन गरिँदै आएको छ । भेडा मर्न थालेपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत पशु चिकित्सकको टोलीगोठमै पुगेर भेडाबाख्राको स्वास्थ्य जाँच तथा रगतको नमूना सङ्कलन गरेको छ ।

कार्यालय प्रमुख जीवन आचार्यका अनुसार, भेडामा आन्तरिक र बाह्य परजीविको सङ्क्रमणका कारण भेडा मरेको बताउनुभयो । उहाँले उपचारका लागि आवश्यक औषधि खरिद गर्न गाउँपालिकालाई आग्रह गरिएको बताउनुभयो ।

“खोरमा भेडापालन भएकाले एउटै ठाउँमा सधैँ राखिरहने र खोरको उचित व्यवस्थापन नहुँदा किर्ना, जुकालगायतको समस्या बढी हुने गर्छ, किसानलाई खोरको सरसफाइ र भेडाको उचित हेरविचार गर्न समेत सुझाएका छौँ”, उहाँले भन्नुभयो ।

भेडापालक किसानको सुविधाका लागि गाउँपालिकाले डिपिङ ट्याङ्कीसमेत निर्माण गरेको तर, त्यसको प्रयोग नगरेका कारण भेडामा रोगको सङ्क्रमण देखिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो ।

उपचारका लागि पशु चिकित्सकले दिएको रिपोर्टअनुसार आवश्यकपर्ने खोपलगायतका औषधि खरिद गर्ने तयारी गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja