लमजुङ बेंसीसहरमा मतदानको नमुना अभ्यास
पोखरा
बदर मत कम गराउन लमजुङ सदरमुकाम बेंसीसहरमा मतदानको नमुना अभ्यास गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा प्रभावकारी बनाएर बदर मत कम गराउन नमुना अभ्यास गरेको जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन हुनुभन्दा २ साताअघि नमुना अभ्यास गरिएको निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए ।‘हामीले गाउँगाउँमा मतदाता शिक्षा दिन सुरु गरेका छौं ।
मुख्य केन्द्रमा नमुना मतदान गर्नेछौं,’ उनले भने ।उनका अनुसार शनिबार बेंसीसहरबाट नमुना मतदानको अभ्यास सुरु भएको छ । २३ गतेसम्म जिल्लाका ८ वटै स्थानीय तहमा नमुना मतदानको अध्यास गरिने सापकोटाले बताए । बेंसीसहरको फूलबारी मञ्चमा शनिबार ३८ जनाले नमुना मतदान गरेकोमा ९ मत अर्थात् ३ दशमलब ४२ प्रतिशत मत बदर भएको छ ।
२९ मत सदर भएको छ । नमुना मतदान अभ्यासमा केही नागरिक, म्यादी प्रहरी र पत्रकारसमेत सहभागि थिए । ‘यो एउटा नमुना अभ्यास हो । नमुना अभ्यासमा जानीजानी बदर गराइएको हुन सक्छ,’ उनले भने । उनका अनुसार नमुना अभ्यासबाट मतदाता शिक्षा प्रभावकारी बनाइनुपर्ने निष्कर्षमा पुगिएको छ । ‘हामी मतदाता शिक्षालाई प्रभावकारी बनाउँछौं,’ उनले भने ।
लमजुङमा कात्तिक १८ मा स्थानीय तहका निर्वाचन सम्पर्क अधिकारीलाई तालिम दिएपछि मतदाता शिक्षा कार्यक्रम सुरु भएको निर्वाचन अधिकारी सापकोटाले बताए । उनले मंसिर १ सम्म प्रत्येक पालिकाको वडामा स्वास्थ्य स्वयंसेविकाले घरदैलो गरेर मतदाता शिक्षा प्रदान गर्ने बताए ।
उनका अनुसार हरेक स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा मतदाता शिक्षा समन्वय समिति रहेको हुन्छ । वडा सचिवको संयोजकत्वमा मतदाता शिक्षा सञ्चालन समिति छ । उक्त समितिले वडा तहमा मतदाता शिक्षा प्रभावकारिताबारे अनुगमन गर्ने, सचेत र मतदाता शिक्षा प्रभावकारी रूपमा सञ्चालन नगर्ने कर्मचारीलाई कारबाही गर्नेसम्मको अधिकार दिएको हुन्छ ।
मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले नमुना अभ्यासअन्तर्गत पहिलो सुरुमा प्रतिनिधिसभाका प्रत्यक्षतर्फ उम्मेदवारलाई मतदान गरिसकेपछि प्रतिनिधिसभाकै समानुपातिकतर्फका उम्मेदवारका लागि, त्यसपछि प्रदेशसभाका लागि प्रत्यक्षतर्फका उम्मेदवारलाई र प्रदेशसभाको समानुपातिकतर्फको उम्मेदवारलाई मतदान गरिएको थियो ।
‘लमजुङको हकमा प्रत्यक्षतर्फ अहिले उम्मेदवार धेरै नभएको बदर मत कम हुन सक्छ । समानुपातिकतर्फ भने धेरै उम्मेदवार रहेकाले बदर मत बढी हुन सक्छ,’ उनले भने, ‘हामी मत बदर घटाउने अधिकतम प्रयासमा छौं ।’
निर्वाचन कार्यालयका सूचना अधिकारी जिबाखर शर्माका अनुसार २० गते मध्यनेपाल नगरपालिकाको भोर्लेटारमा र क्व्होलासाोथार गाउापालिकाको मालिङमा, २१ गते दोर्दीको नौथर शेरामा र मर्स्याङी गाउापालिका ८ को पञ्चविचार आवासीय विद्यालयमा, २२ गते दूधपोखरी गाउापालिकाको जोर्नेमा, २३ गते सुन्दरबजार नगरपालिका ६ को शान्ति निकेतन आवासीय मावि र राइनास नगरपालिकाको तिनपिप्लेमा नमुना मतदान अभ्यास गर्ने कार्यक्रम छ ।
एउटा मात्रै प्रतिनिधि सभा रहेको लमजुङमा ६५ हजार २ सय ७१ महिला र ६८ हजार २ सय ८८ पुरुष गरी कुल १ लाख ३३ हजार, ५ सय ५९ मतदाता रहेका छन् । लमजुङमा पुरुषको तुलनामा महिला मतदाताको संख्या बढी रहेको जिल्ला निर्वाचन कार्यालयको तथ्यांकले देखाएको छ ।
लमजुङ प्रदेशसभा १ मा ३१ हजार ७ सय ३ जना पुरुष, ३१ हजार ८ सय ७२ महिलासहित ६३ हजार ५ सय ७५ जना मतदाता संख्या रहेका छन् भने प्रदेशसभा २ मा ३३ हजार ५ सय ६८ पुरुष, ३६ हजार ४ सय १६ महिला गरि ६९ हजार ९ सय ८४ मतदाता रहेका छन ।