लमजुङबाट करिब तीन लाख नगदसहित ३८ जुवाडे पक्राउ
पोखरा
कौडा खेलिरहेको अवस्थामा लमजुङबाट नगद २ लाख ८१ हजार १ सय २५ रुपैयाँ सहित ३८ जना जुवाडलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङ र इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार राती जिल्लाका २ ठाउँबाट जुवाडेलाई पक्राउ गरेको हो ।
प्रहरीले बेँसीसहर नगरपालिका ११ चिती तिनपिप्ले बस्ने वर्ष ५७ का गणेशप्रसाद श्रेष्ठको घरमा कौडा खेल्दै गरेका सम्बन्धित घरधनीसहित २५ जनाको साथबाट नगद एक लाख २१ हजार पच्चिस रुपैयाँ र १६ थान कौडा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरिक्षक जगदिश रेग्मीले बताए । पक्राउ पर्ने २५ जना सबै बेँसीसहर नगरपालिका ११ का हुन् ।
त्यस्तै सुन्दरबजार नगरपालिका १ कुन्छा बस्ने वर्ष ४४ का रामबहादुर दुराले कौडा खेलाउँदै गरेको अवस्थामा दुरासहित १३ जनालाई नगद एक लाख ६० हजार एक सय २५ रुपैयाँ र १६ थान कौडा पक्राउ गरिएको प्रहरी निरिक्षक रेग्मीले बताए। पक्राउ परेका १२ जना सुन्दरबजार नगरपालिकानिवासी छन् भने एकजना तनहुँका छन् ।