पोखरास्थित ज्योतिकुञ्ज स्कूलमा विद्यार्थीको खेल्नेक्रममा मृत्यु
पोखरा
पोखरास्थित ज्योतिकुञ्ज स्कूलमा अध्ययनरत एक विद्यार्थीको खेल्नेक्रममा ज्यान गएको छ ।मृत्यु हुनेमा कक्षा ८ मा अध्ययनरत पाल्पाको रम्घा-३ घर भएका १४ वर्षीय बालक रोहित थापा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार सोमबार दिउँसो २ बजेतिर विद्यालय हाताभित्रकै फुटवल खेल मैदानमा खेल्नेक्रममा उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि तत्कालै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।
‘फुटबलको गोल पोस्टको बारमा झुण्डिएर चिन-अप गर्नेक्रममा गोल पोष्टको बार एक्कासी झरेर टाउकोमा लाग्दा रोहित गम्भीर घाइते भएका रहेछन्’, डिएसपी तिवारीले भने । बालकको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको र प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताए ।