लमजुङबाट एमालेका पृथ्वीसुब्बा गुरुङ निर्वाचित
पोखरा
लमजुङको प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुबा गुरुङ विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङलाई ३१ सय ८८ मतान्तरले पछि पार्दै एमालेका पृथ्वीसुब्बा विजयी भएका हुन् ।जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार विजयी पृथ्वीसुब्बाले ३४ हजार ९६९ मत प्राप्त गरेका छन् । पराजित गुरुङले ३१ हजार ७८१ मत प्राप्त गरे ।
कूल एक लाख ३३ हजार ५ ५९ मतदाता रहेकामध्ये ८० हजार एक सय ९२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
एमाले नेता पृथ्वीसुब्बा विसं २०६४ मा तत्कालीन लमजुङ क्षेत्र नं २ बाट नेपाली कांग्रेसका दिलबहादुर घर्तीलाई हराउँदै विजयी भएका थिए । विसंं २०७४ मा लमजुङ प्रदेश ‘२’ बाट गुरुङ आठ हजार चार सय एक मतान्तरले विजयी भएका थिए ।
गुरुङले २३ हजार एक सय ८८ मत प्राप्त गर्दा प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार कृष्णप्रसाद कोइरालाले १५ हजार १२२ मत प्राप्त गरेका थिए । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका गुरुङ विसंं २०४८ यताका प्रत्येक संसदीय निर्वाचनमा सहभागी हुँदै आएका छन् ।