बागलुङका सुन्तलामा औँसा किराको प्रकोप, कृषक समस्यामा
पोखरा
बागलुङमा पाक्नेबेलाका सुन्तलामा औँसा किराको प्रकोप देखिएको छ ।
बिक्री गर्ने तयारीमा जुटेका किसानलाई यो प्रकोपले समस्यामा पारेको छ । अहिले बोटबाट सुन्तला कुहिएर झर्न थालेपछि जिल्लाका सुन्तला उत्पादक कृषक समस्यामा परेका छन् । औँसा किराका कारण सुन्तलाका दाना कुहिएर झर्न थालेपछि बिक्रीको तयारीमा लागेका किसान नझरेका सुन्तला व्यवस्थापन गर्न लागेका हुन् । जिल्लाभर करिब २० प्रतिशत सुन्तलामा औँसा किराको प्रकोप देखिएको कृषि ज्ञानकेन्द्रका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए ।
अन्नबाली छाडेर व्यावसायिक सुन्तला उत्पादनमा लागेका कृषक फल झरेपछि मर्कामा परेका छन् । बोटमा रहेका सुन्तलामध्ये १० प्रतिशत कुहिएर भुइँमा झरेको बागलुङ नगरपालिका-८ सिगानाका किसान टोपबहादुर खड्काले बताए । “बर्सेनि समस्या बढ्दै आएको छ आँैसा किराका कारण सुन्तला उत्पादनमा केही कमी आउने देखिएको छ”, उनले भने, “झरेका सुन्तलाको सही व्यवस्थापन गर्न नसक्दा बर्सेनि यस्तो समस्या आइरहेको छ ।”
सुन्तलालगायत अमिलो प्रजातिका फलफूलमा औँसा किराको प्रकोट देखिएपछि कृषि ज्ञान केन्द्रले कृषकको बगैँचामा पुगेर त्यसको अध्ययन तथा रोकथाम र व्यवस्थापनबारे सचेत गराएको केन्द्र प्रमुख भट्टराईले बताए ।
औँसाको जीवनचक्र अध्ययन गर्न ज्ञानकेन्द्रले प्लाष्टिकको बोतलमा माटो हालेर त्यसमा औँसा राखेको छ । माटोमा राखेको छ दिनमा प्युपाबाट लार्भा भएको र कुन समयमा विषादी प्रयोग गर्दा औँसा बढीभन्दा बढी मार्न सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको उनले जानकारी दिए ।
जिल्लाभर समस्याकै रुपमा सुन्तलाखेतीमा फैलिएको औँसाको नियन्त्रणका लागि एक/दुई जना कृषकले मात्रै गरेर सम्भव नहुने भएकाले फल कुहिएर झर्ने समस्या देखिएको अभियानकैरुपमासञ्चालन गर्नुपर्नेमा कृषकहरुले जोड दिए ।
सुन्तला, जुनार, मौसम, भोगटे, निबुवा, विमिरो, कागती, ज्यामिरलगायत फलफूलमो यो रोगको सङ्क्रमण फैलिएको छ ।
बोटबाट रोग सङ्क्रमित भएर झरेका फलमा हुने औँसाका लार्भा माटोभित्र जाने खतरा हुने र यसले गर्दा प्रकोप नियन्त्रण बाहिर जानसक्ने खतरा रहेकाले झरेका फललाई व्यवस्थितरूपले व्यवस्थापन गर्न आवश्यक रहेको कार्यालय प्रमुख भट्टराईको भनाइ थियो ।
झरेका दानामा भएका औँसालाई माटोमा हुर्कंन नदिन दाना टिपेर प्लाष्टिकको झोलामा पोको पारेर राख्नुपर्ने हुन्छ । बागलुङको सिगाना, तित्याङ, बिहुँ, भकुण्डे र सर्कुवालगायत स्थानमा सुन्तला बढी उत्पादन हुन्छ ।