पोखरामा स्पेनिस टोली र गण्डकी-११ बीच मैत्रीपूर्ण फुटवल हुने
पोखरा
स्पेनिस टोली र गण्डकी-११ बीच पोखरामा मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । स्पेनको ‘बी’ डिभिजन क्लव काथेरेन्यो र गण्डकीबीचको खेल पुस १३ गते पोखरा रंगशालामा हुनेछ ।
लुम्बिनी गार्डेन फाउन्डेशन र कास्की जिल्ला फुटबल संघको आयोजनामा मैत्रीपूर्ण खेल आयोजना गरिएको हो । लुम्बिनी गार्डेन फाउन्डेशनका महासचिव एकराज गिरीका अनुसार स्पेनको राष्ट्रिय टोलीबाट खेलिसकेका केही खेलाडीसम्मिलित गर्दै काथेरेन्यो नेपाल आउँदैछ ।
काथेरेन्योले शुरुमा स्पेनका इकर कासिलास, डेभिड भियालगायतका खेलाडीलाई नेपाल ल्याउने बताइएको थियो । भिया आउने निश्चित भएपनि कासिलास आउने सम्भावना नरहेको महासचिव गिरीले बताए । यता, गण्डकी-११ को कप्तानी नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले गर्नेछन् ।
पोखरामा पाँच वर्षसम्म लगातार स्पेनी टोली ल्याउन पहल गरिने उनले बताए । आगामी वर्ष आन्द्रेस इनिस्टा, फर्नान्डो टोरेसलगायतका खेलाडी ल्याउने उनको दाबी छ । ‘अहिले नै हामीले इनिस्टा, टोरेस ल्याउन चाहन्थ्यौं । समयले मिलेन, अर्को वर्ष उहाँहरू पनि आउनुहुन्छ,’ गिरीले भने ।
खेलाडी तथा खेलकुदको विकासमा थप टेवा पुर्याउने उद्देश्य अनुरुप आफूहरुले १६ देशमा समन्वय गरिरहेको उनले बताए । गण्डकी-११ का कप्तान गुरुङले स्पेनजस्तो देशका खेलाडीहरुसंग पोखरामा खेल्न पाउनु निकै गौरवको कुरा भएको बताए । उनले राजेन्द्र तामाङको प्रमुख प्रशिक्षणमा आफूहरु तयारीमा जुट्दै गरेको र केही दिनमा २५ जना खेलाडीहरु छनोट गरी कम्तिमा एक साता प्रशिक्षण गर्ने बताए ।
पूर्व खेलाडी सुन्दर थापाले पोखरामा भएको भोलिपल्ट अर्थात पुस १४ मा काठमाडौंमा मैत्रीपुर्ण खेल हुने जानकारी दिए ।