मादी गाउँपालिका १ का निवर्तमान वडाध्यक्ष गुरुङको आगलागीमा परि निधन
पोखरा
कास्कीको मादी गाउँपालिका वडा नं. १ का निवर्तमान वडाध्यक्ष सुरजकुमार गुरुङको आगलागीमा परि निधन भएको छ ।
गएराति करिब ९ बजे मादीको सिक्लेसस्थित दुई वटा घरमा आगलागी हुँदा सो आगलागीमा परि गुरुङको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । आगलागीबाट गुरुङ र छिमेकी टौराज गुरुङको घर पूर्णरुपमा क्षति भएको प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।
आइतबार बेलुका मादी गाउँपालिका १ सिक्लेसको दुईघरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको मादी १ का वडाध्यक्ष देवी जंग गुरुङ्गले जानकारी दिए । आगलागीको कारण खुल्न नसकेको क्षतिको विवरण भने आउन बाँकी प्रहरीले जनाएको छ । गुरुङको शवलाई पोखरामा पोष्टमार्टम गरि आफन्तको जिम्मा लगाइसकिएको प्रहरी निरीक्षक खड्काले बताए ।
वडाध्यक्ष देवीजंग गुरुङका अनुसार निवर्तमान वडाध्यक्ष गुरुङकी श्रीमतीको गत वर्ष निधन भएको थियो । उनका दुई छोरा र तीन छोरी छन् । उनी घरमा एक्लै बस्दै आएका थिए । यसैबीच निवर्तमान वडाध्यक्ष गुरुङको निधनप्रति वर्तमान वडाध्यक्ष देवीजंग गुरुङले दुःख व्यक्त गरेका छन् । उनले गुरुङको निधनसंगै वडावासीले एक असल अभिभावक गुमाएको भन्दै उनले परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।