विद्युत् पोल नहटाउँदा पृथ्वी राजमार्ग विस्तारमा बाधा
पोखरा
राजमार्गको आँबुखैरेनी–जामुनेलाई पूर्वी खण्ड र जामुने–पोखरालाई पश्चिम खण्डमा विभाजन गरी विस्तार कार्य भइरहेको छ ।
तर, दुवै खण्डमा सबै विद्युत् पोल सारिसकिएको छैन । जसका कारण अन्य निर्माणकार्य गर्न समस्या भइरहेको आयोजनाको पूर्वी खण्डका प्रमुख नगेन्द्र सुवेदीले बताए । ‘विस्तार कार्यलाई तीव्रता दिइए पनि समग्र आयोजनाको प्रगति अपेक्षित नहुनुमा विद्युत् पोल अझै नहटाइनु मुख्य कारण हो,’ उनले भने ।
सडक विभागले लागत अनुमान गर्दा विद्युत्का पोल स्थानान्तरण गर्नुपर्ने भने पनि प्राधिकरणले पुराना ९ मिटरका पोलको सट्टामा १३ मिटरका नयाँ पोल राख्नुपर्ने तर त्यसका लागि पर्याप्त बजेट नभएको भन्दै काममा ढिलाइ गरिरहेको छ । ‘१३ मिटरको पोल गाड्नुपर्ने भएकाले त्यसको स्रोत जुटाउँदा ढिलाइ भयो,’ उनले भने, ‘अहिले प्राधिकरणले हटाउनुपर्ने पोलको इस्टिमेट निकालेर टेन्डर प्रक्रियामा गइसकेको छ । सम्भवतः माघको दोस्रो साताबाट विद्युत्का पोल हटाउने कार्य सुरु हुन्छ । यो आर्थिक वर्षभित्र पूर्वी खण्डका सबै विद्युत्का पोलहरू स्थानान्तरण गरिनेछन् ।’
पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीबाट बरादी पुलसम्मको करिब ७ किलोमिटर सडकखण्ड जनवरी १५ बाट कालोपत्र गर्ने तयारी गरिएको उनले जानकारी दिए । तर, सडक सीमाभित्र रहेका विद्युत्का पोलहरू नहटाइँदा कालोपत्र गर्ने कार्य पनि अनिश्चित बन्न पुगेको छ । ‘पूर्वी खण्डमा नयाँ विद्युत् पोल राख्न टेन्डर भइसकेको छ,’ प्राधिकरणको तनहुँ शाखाका इन्जिनियर जनार्दन पौडेलले भने, ‘पोल हटाउने कार्यमा केही ढिलो भएकै हो । यो कार्यलाई अन्तिम रूप दिन हामी टेन्डर प्रक्रियामा गइसकेका छौं । यस खण्डमा करिब २ हजार २ सय नयाँ पोलहरू राख्नुपर्ने देखिएको छ ।’
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल भने बजेटभन्दा पनि प्राधिरकणले पोलको इस्टिमेट गर्नै ढिलाइ गरेको दाबी गर्छन् । ‘पहिले पोलको इस्टिमेट निकाल्न नै समय लगाइयो । पछि लागत अनुमानमा पनि छिटो काम हुन सकेन,’ उनले भने, ‘अहिले सबै समस्या समाधान गरी टेन्डर प्रक्रियामा गएको छ । हाललाई आवश्यकताअनुसार आन्तरिक रूपमा विद्युत्का पोल हटाएर कामलाई अगाडि बढाइएको पनि छ ।’
यात्रुलाई दिनदिनै सास्ती
अन्य विकल्प नभएकाले राजमार्गमा सवारी आवागमनकै बीच विस्तार कार्य भइरहेको छ । जसका कारण यात्रुले अनेक सास्ती झेल्नु परिरहेको छ । योजनाबद्ध र समन्वयात्मक ढंगले काम नगरिँदा घण्टौं जाममा फस्नुपरेको यात्रुको गुनासो छ । अत्यावश्यक कामले यात्रा गरिरहेका र बिरामी बोकेका एम्बुलेन्स बढी मारमा परेका छन् ।
तर, यात्रुलाई पनि समस्या नपरोस् र काममा अवरोध नआओस् भनी समयतालिका मिलाएर काम भइरहेको दाबी गर्छन् प्रजिअ अर्याल । ‘सरोकारवालसँग बैठक बसी लामो समय राजमार्ग अवरुद्ध नगर्ने र कामलाई पनि के कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफलसँगै निर्णयहरू भएका छन् । सोहीअनुसार चिसो मौसम सकिएलगत्तै रातिको समयमा कामलाई तीव्रता दिने योजना बनाइएको छ,’ उनले भने । निर्माण पक्षले दिउँसो ट्राफिक कम हुने समयमा सवारीसाधनलाई ३० मिनेट रोकेर पहरो तथा भित्तो कटान गरी सडक चौडा पार्ने कार्य गरिरहेको उनले बताए ।
–पोखराको दूरी करिब ८८ किमि छ । आयोजनाले आँबुखैरेनी–जामुनेको ४१ किमिलाई पूर्वी खण्ड र जामुने–पोखराको ३९ किमिलाई पश्चिम खण्ड गरी दुई खण्डमा विभाजन गरेको छ । पश्चिम खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुई काइयुन हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले ७ अर्ब ४० करोडमा २०७८ जेठ ३ मा र पूर्वी खण्ड निर्माणको ठेक्का अर्को चिनियाँ कम्पनी कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा २०७८ वैशाख २ मा लिएका हुन् ।