गोरखाका अवैध रुपमा रहेका सबै क्रसर उद्योग बन्द
पोखरा
गोरखाका सबै क्रसर उद्योग नियम विपरीत संचालित भएकोले स्थानीय प्रशासनले सबै उद्योगमा ताला लगाएकोछ ।
गृहको निर्देशन अनुसार नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको बैठकले अवैध क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको हो । सोही निर्णय अनुसार सोमबार जिल्लाका सबै क्रसर उद्योगमा ताला लगाइएको प्रमु्ख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।
पर्यटन तथा उद्योग कार्यालय गोरखाका अनुसार हालसम्म जिल्लामा तीन वटा क्रसर उद्योग दर्ता छन् । गोरखा नगरपालिकामा रहेको गोरखकाली क्रसर उद्योग, पालुङटार नगरपालिकामा रहेको सिम्रन क्रसर उद्योग र माई मनकामना क्रसर उद्योग दर्ता भएको कार्यालयले जनाएको छ । तर कार्यालयका अनुसार यी तीनै क्रसर सम्बन्धित ठेगानामा संचालन भएका छैनन् । विगत केही वर्षदेखि नवीकरणसमेत नभएको कार्यालय प्रमुख सुर्य भुजेलले बताए ।
क्रसर उद्योग मात्र होइन प्रशासनका अनुसार सोमवार जिल्लामा संचालित सबै बालुवा प्रशोधन केन्द्रमा पनि ताला लगाइएको छ । पर्यटन तथा उद्योग कार्यालयका अनुसार हालसम्म १२ वटा वालुवा प्रशोधन केन्द्र दर्ता भएर जिल्लामा संचालन छन् । ती सबै गण्डकी गाउँपालिका वडा नम्बर ७ र ८ मा रहेको कार्यालय प्रमुख भुजेलले जानकारी दिए । तीमध्ये अधिकांश कम्पनी रजिष्टारको कार्यालयमा दर्ता छन् । उनीहरुको वैधताबारे कार्यालय र प्रशासन दुवै बेखबर छन् ।
बालुवा प्रशोधन केन्द्रले बालुवा उत्खनन गर्न पाउँदैन । इजाजत प्राप्त उद्योगले उत्खनन गरेको बालुवा ल्याएर प्रशोधन गर्न मात्र पाउने प्रावधान छ । तर प्रशोधन केन्द्रको नाममा दर्ता भएका कम्पनीहरुले धमाधम वालुवा उत्खनन् समेत गरिरहेका छन् । तर प्रशासन र सम्बन्धित स्थानीय तह यसबारे अनविज्ञ छन् ।
दर्ता नभइ जिल्लामा फिरफिरे र केही बालुवा प्रशोधन केन्द्रहरु पनि संचालनमा रहेको भेटिएको जिल्ला प्रहरी प्रमुख एसपी केदार खनालले बताए । ‘क्रसर उद्योगहरु बन्द गराउने क्रममा केही त्यस्ता फिरफिरे र केन्द्रहरु पनि भेटिए,’ उनले भने, ‘हामीले ती सबैमा ताला लगाएका छौं ।’ आयोजनाका नाममा संचालन भएका तर आयोजना सम्पन्न भएपछि पनि संचालन भइरहेका केही क्रसर उद्योगहरुलाई पनि बन्द गराइएको उनले जानकारी दिए ।